Breaking

पारिवारिक कलहले बढ्दैछ अपराध, समाज भाँडिदा प्रहरीलाई नै चुनौती, परिवारका सदस्य नै योजनाकार


काठमाडौँ – पछिल्लो केही दिनयता श्रृंखलाबद्ध रुपमा हत्याको घटना सार्वजनिक भईरहेको छ । अझ अधिकांश घटनामा परिवार आफन्त र चिनजानकै व्यक्तिको संलग्नता हुनु अर्को गम्भिर विषय हो । समाजमा हत्या जस्तो जघन्य अपराध किन बढ्दै छ ?

चैत्र ३ गते कास्कीको मादी १ सिक्लेस तउरेती सडकको भीरमा एकजनाको मृत शव फेला पर्छ । स्थानीयको खबर लगत्तै प्रहरी घटनास्थलमा पुग्छ । भीरमा फेला परेको शवको सनाखत भइसकेको लगभग सातादिनपछि मृत व्यक्ति जुगल गाउँपालिका–३ गुम्बाका ३६ वर्षीय रामबहादुर तामाङ रहेको प्रहरी अनुसन्धानबाट खुल्छ । तामाङको आफ्नै जेठी श्रीमती कान्छी लामा तामाङले प्रेमी धन लामालाई सुपारी दिएर हत्या गर्न लगाएको पुष्टि हुन्छ ।
फागुन ३० गते काठमाडौंबाट सिक्लेसको हाइड्रो पावरमा काम गएका रामबहादुरलाई ९० हजार रुपैयाँ एडभान्स दिएर हत्या गर्न लगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कर्तव्य ज्यान मुद्वामा पक्राउ परेका धन लामा, नविन, अजित तामाङ र कान्छीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार सार्वजनिक गरेको छ । रामबहादुर र कान्छीबीच ५÷६ वर्षदेखि मनमुटाब सृजना भएपछि छुट्टाछुट्टै बस्दै आएका थिए । रामबहादुरले २ वर्ष अगाडि नै अर्को विवाह गरेपछि कान्छीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा बहुविवाहको मुद्धा दर्ता गरेकि थिइन् । ७ महिना कारागार बसेर निस्किएपछि झन् झगडा र रिसइबी बढेपछि हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

विहिवार बैतडीमा एक जनाले कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ धामी गाउँका ६२ वर्षिय कृष्ण धामीले कोदालोले हिर्काएर आफ्नै ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या गरेका हुन् । यहि साता धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ मा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको हो । मादक पदार्थ सेवन गरी फर्कने क्रममा पैसा र मोबाइलमा रहेको एक भिडियोबारे विवाद हुँदा उनको हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जासिम नदाफ पक्राउ परेका छन । घटनाबारे थप अनुसन्धन चलिरहेको छ ।
झापाको भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा सनम राईको हत्या भयो । उनको आफ्नै साथी २५ वर्षीय कमान सिंह राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको जङ्खल क्षेत्रमा २१ वर्षीया सुमना श्रेष्ठको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो । घटनास्थलबाटै धारिलो हतियार वरामद भएको थियो ।
फागुन ३० गते काठमाडौँको तारेभिरमा किशोरीको शव फेला प¥यो। गाडिएको अवस्थामा फेला परेको शव १८ वर्षीया सुष्मा लामाको थियो। बुढानीलकण्ठ बस्ने सुष्मा कक्षा १२ मा पढ्थिन्। सुष्माको एकतर्फी प्रेममा परेका २१ वर्षीय रुपेन्द्र लामाले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो। आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि योजना बनाएर सुष्माको हत्या गरेको रुपेन्द्रले प्रहरीमा बयान दिए। यी दुवै एकै गाउँका छिमेकी थिए।


चैत २ गते नै मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भयो। २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव अस्पतालनजिकै रहेको डेराको बाथरुममा फेला परेको परेको थियो। धारिलो हतियारले हानेर उनको हत्या भएको देखियो। उनको शव भेटिएसँगै उनका प्रेमी शिवशंकर धानुक सम्पर्कविहीन थिए। दासको हत्यामा धानुक संलग्न भएको हुनसक्ने प्रहरीले अनुमान ग¥यो। प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंकाबीच होटलको कोठामा झुन्डिएको अवस्थामा दासको शव फेला प¥यो।
सप्तरीको सप्तकोसी नगरपालिका–३ सखबनीमा २२ वर्षीय लालदेव सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय बुबा हिराई सदाको हत्या गरे । यी त केहि सार्वजनिक भएका घटनाहरु मात्र हुन् । जहाँ अधिकांश घटनाहरुमा परिवार आफन्त र चिनजानकै व्यक्तिको संलग्नता छ । यस्ता घटनाहरु बढ्नु र नजिककै व्यक्ति संलग्न हुनु भनेको सामाजिक मनोवृत्ति, सामाजिक वितृष्णा र मुलत आर्थिक समस्याका कारण यस्ता घटनाहरु बढिरहेको कपियको बुझाई छ ।

हत्या जस्तो गम्भिर अपराधिक प्रवृत्ति बढ्नु आफैमा डरलाग्दो छ । समाजमा सृजना भएको यो डरलाग्दो तथ्यले थप त्रास सृजना गराएको छ । राज्यले बेलैमा यस्ता घटनालाई निरुत्साहित पार्न ठोस कदम चाल्नु पर्ने देखिन्छ ।