Breaking

ठमेल र दरबारमार्ग २४सैँ घण्टा खुला, होला व्यवसाय चलायमान ?, कस्तो बन्ला मापदण्ड ?


काठमाडौँ – विदेशी पर्यटकको पहिलो रोजाइ बनेको काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउने तयारी गरिएको छ । सरकारको यो कदमसँगै व्यवसायी पनि उत्साहित बनेका छन् ।

नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक काठमाडौंको ठमेल घुम्न पुग्ने गर्छन् । जहाँ व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लबहरुले रातको समयमा पनि छुट्टै मनोरञ्जन दिइरहेका हुन्छन् । तर सरकार फेरिँदैपिच्छे परिवर्तन हुने नियमले ठमेलका व्यवसायी दिक्क भएका थिए । अहिले गृहमन्त्रालयमा रवि लामिछाने पुगेपछि ठमेललाई २४सै घण्टा खुलाउने तयारी गरेको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसाय सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी थालेको हो । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ । सोमवार सम्बन्धित निकाय र व्यवसायीहरुसँगको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुलाउने तयारी रहेको बताए । उनले ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताए । उनले व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीयबासी सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने विषयमा छलफल भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायीहरुले वस्तु तथा सेवामा दिँउसो र रातिको मूल्य फरक बनाउन नपाउने पनि जानकारी दिए । साथै अहिलेको भन्दा अपराधिक क्रियाकलाप बढ्न सक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने छ । व्यवसायीहरुले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनेगरी ध्वनी प्रदुषण गर्न नपाउने उल्लेख गरिएको छ ।

लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएका व्यवसायी अहिले उत्साहित बनेका छन् । व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावका आधारमा आगामी तीन दिनभित्र टुंगो लगाउने विषयमा उनीहरु जुटेका छन् । अबको एक हप्ता भित्र यो योजनाले पूर्णता पाउने व्यवसायीहरुको विश्वास छ ।

यता दरबार मार्गलाई पनि २४ सै घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त रहेको सरोकारवालाहरुको भनाइ छ । ७० मिटरको क्षेत्रफलमा सबै संरचनाहरु तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४ सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने उनीहरु बताउँछन् ।

दरबार मार्गलाई २४ सै घण्टा खुला गरी नाइट वाक क्षेत्र बनाउन आवश्यक रहेको पनि स्थानीय व्यवसायीको माग छ । दरबार मार्गलाई २४ सै घण्टा खुला गर्ने सरकारको निर्णयलाई उनीहरुले स्वागत गरेका छन् ।