Breaking

नेपाली क्रिकेटलाई सफलता, आयरल्यान्ड सजिलै परास्त, दोस्रो खेल जित्दै इतिहास रच्ने दाउ


काठमाडौँ – हाल नेपाली क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको तयारीमा व्यस्त छ । त्यसैको पूर्व तयारी स्वरुप घरेलु मैदानमा खेलिएको दुई खेलको सिरिजमा टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डलाई पराजित गर्न नेपाल सफल भएको छ ।

सोमबार त्रिवि अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो अभ्यास खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । टेष्ट मान्यता प्राप्त राष्ट्रको ‘ए’ टिमलाई हराउन सफल नेपालले दुई खेलको सिरिजमा एक–शून्यले अग्रता लिएको छ । टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले धारिलो बलिङ गर्दै आयरल्याण्ड ‘ए’ लाई सस्तैमा समेटेको थियो । १ सय २२ रनको सामान्य लक्ष्य पाएको नेपालले १६.१ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलबीच भएको ३२ रनको साझेदारीको सहयोगमा नेपालले जित निकाल्न सफल भएको हो । अन्तिमसम्म अभिजित रहेका भुर्तेलले ३२ बलमा चार चौकाको मद्दतले ३७ रन बनाए । त्यस्तै, ११ बलमा दुई चौका र एक छक्का प्रहार गरेका अर्का ओपनर आसिफले १६ रन जोडेका थिए । उनी ग्यारेथ डेल्नीको बलमा एलबीडब्ल्यूको सिकार हुन पुगे । तेस्रो नम्बरमा व्याटिङ गर्न आएका कप्तान रोहितकुमार पौडेललाई पनि डेल्नीले नै डकआउट गराए भने गुल्सन झा पनि चार रन बनाएर वेन ह्वाइटको बलमा आउट हुन पुगे । ३७ रनमा तीन विकेट गुमाएको नेपाललाई कुशल र सन्दीप जोराले बलियो स्थितिमा ल्याएका थिए । उनीहरूबीचको ५४ रनको साझेदारी नै नेपालका लागि जितको आधार बन्यो । सन्दीपले तीन चौका र दुई छक्का प्रहार गर्दै ३५ बलमा ३६ रनमा बनाएका थिए । उनी टम मेयसको बलमा आउट भएका थिए । त्यसपछि क्रिजमा आएका अनुभवी व्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले १२ बलको सामना गर्दै दुई छक्का र एक चौकाको मद्दतमा २० रनमा अभिजित रहे ।

पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ले निर्धारित २० ओभर सबै विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । उसका लागि ओपनर स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाए । अर्धशतक बनाउनबाट चार रनले चुकेका डोहेनीले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । टम र लियाम मकार्थीले १६÷१६ र फिओन ह्याण्डले ११ रनको योगदान दिए । प्लेयर अफ द म्याच नै बत्र सफल भुर्तेलले नेपालका लागि तीन ओभर गर्दै १७ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिएका थिए । उनले ३८ बलमा ४६ रन बनाएर खेलिरहेका खतरनाक देखिएका डोहेनी र ह्याण्डलाई पभेलिनको बाटो देखाएका थिए । त्यस्तै गुलशन झा र ललित राजवंशीले पनि समान २÷२ विकेट लिए । करण केसी र कुशल मल्लको नाममा १÷१ विकेट रह्यो ।

अब नेपालले मंगलबार आयरल्याण्ड ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्ने तालिका छ । यदि नेपालले उक्त खेलमा पनि जित हासिल गर्न सके पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्धको श्रृङ्खला आफ्नो नाममा पार्ने ऐतिहासिक सफलता प्राप्त गर्ने छ ।