Breaking

स्पट फिक्सिङमा महबुब आलम र आदिल अन्सारीले पाए सफाइ


काठमाडौँ – जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पक्राउ परेपछि उनीहरु गतवर्ष तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । आदिलले नेपालबाट ६ ओडीआई र ८ टी-२० आई खेल खेलेका छन् । विष्फोटक ब्याटर आदिल उक्त आरोपछि नेपाली टोलीमा छैनन् ।

आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको फ्याँलेको नो बलले उनीमाथि स्पट फिक्सिङमा शंका बढ्दै गएको थियो । आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव महबुब आलमले गरेको आरोप लागेको थियो ।

महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७।५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।