Breaking

तराईका जिल्लामा आज होली मनाइँदै


तराई–मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ ।

काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइएको छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ। तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ ।

तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर र शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ। होलीका वेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ। यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्त्व छ। रैथाने परिकारले समेत यो पर्वमा रौनक थप्छन्। होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ।