Breaking

रूसको कन्सर्ट हलमा अन्धाधुन्दा गोली चल्दा ६० जनाको मृत्यु, १ सय ४५ जनाभन्दा बढी घाइत

योहो संवाददाता

रूसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु भएको छ ।
गोली लागेर कम्तीमा १ सय ४५ जनाभन्दा बढी घाइते भएको समाचार एजेन्सी रोयटर्स जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार रूसी मानव अधिकार आयोगले यसलाई आतंकवादी हमला भनेको छ । रूसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । यहाँ कन्सर्ट हुन लागेको थियो ।

बीबीसी रसियाका अनुसार कन्सर्टअघि भेष बदलेर हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्द गोली चलाउन थालेपछि आतंक मच्चिएको थियो । भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब सय जनाको उद्धार गरेका छन् । घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । राष्ट्रपति म्लादिमिर पुटिनले घटनाप्रति दुःख व्यक्त गर्दै आक्रमणमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यसैबीच आक्रमणको जिम्मेवारी आईएसआईएसले लिएको सीएनएनले जनाएको छ ।