Breaking

होली सुरक्षाका लागि काठमाडौं उपत्यकाका ९० स्थानमा चेकजाँच, ९ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन


काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा कडाइ गर्ने भएको छ ।
उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिनुभएको हो । (एसएसपी) श्रेष्ठका अनुसार होली पर्व मनाउने क्रममा हुने दुर्घटना न्यूनीकरणका लागि यस वर्ष काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ । यसका साथै ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाइन्टसमेत राख्ने तयारी गरिएको छ । सुरक्षा योजना अनुसार मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गरिनेछ । यसका लागि करिब एक हजार जना ट्राफिक प्रहरी खटिने एसएसपी श्रेष्ठले बताउनु भयो । अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाइ गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ ।