पर्यटन

परशुराम धामस्थित महाकाली नदीमा र्‍याफ्टिङ सरर…(फोटोफिचर)


काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका स्थित महाकाली नदीमा साहसिक जलयात्रा र्‍याफ्टिङ सुरु गरिएको छ । परशुरामधामको प्रचारप्रसार र धार्मिकसँगै साहसिक पर्यटकलाई समेत आकर्षणका लागि र्‍याफ्टिङ सुचारु गरिएको हो । नगरपालिकाले सहजीकरण गर्नेगरी रुडुक डडेल्धुरा र अक्सफाम नेपालको आर्थिक सहयोगमा र्‍याफ्टिङ सञ्चालन गरिएको हो ।

तत्कालका लागि परशुराम नगरपालिका(५ परशुराम धामदेखि वडा नं ६ तातापानीसम्म ६ किलोमिटरको दूरीमा सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा नगरप्रमुख भरत बडायर जोशीले भारतले महाकाली नदीको पानीलाई आम्दानीको श्रोत बनाइरहदा नेपालले भने सिँचाइ र पिउने पानीमा रुपमा मात्रै उपयोग गर्दै आएकोमा र्‍याफ्टिङ सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे । उनले भने,‘महाकाली नदीलाई हामीले आर्थिक उपार्जनसँग जोड्न सकेका थिएनौँ । र्‍याफ्टिङ सञ्चालनमा आएसँगै परशुराम धाममा धार्मिकसँगै शाहसिक पर्यटनमा समेत बढोत्तरी हुने विश्वास लिएका छौँ । यसको निरन्तरताका लागि नगरपालिकाले सहयोग गर्नेछ ।’

तत्काल बाहिरबाट प्राविधिक मगाएर एक ‘बोट’ मात्र सञ्चालन गरेको नगरपालिकाले बिस्तारै स्थानीय युवाहरुलाई नै सीप सिकाएर रोजगारी सृजना गर्नेतर्फ समेत ध्यान दिने बताएको छ । र्‍याफ्टिङ सञ्चालनका सञ्चालक छनौट गरेर दातृ निकाय, नगरपालिकाबीच त्रिपक्षीय सम्झौतामार्फत निरन्तरता दिने योजना नगरपालिकाको छ ।

यसअघि २०७५ सालमै सफल परीक्षण भएर र्‍याफ्टिङ सञ्चालनमा ल्याएपनि निरन्तरता दिन सकिएको थिएन । परशुरामको शीर्षदेखि कञ्चनपुर भीमदत्त नगरपालिकाको खल्ला मसेट्टीसम्म सम्भाव्यता अध्ययन भइ र्‍याफ्टिङ सञ्चालनका लागी स्वीकृति पाएको थियो । यो योजनामा कञ्चनपुरको भीमदत्त नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाले समेत साथ दिएका छन् ।

यो रुट सुरक्षित भएकाले निर्धक्कसँग जलयात्रा गर्न सर्वसाधारणलाई नगरपालिकाले अपील गरेको छ । परशुराम धामलाई धार्मिक र साहसिक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउन यो योजना महत्वपूर्ण सेतु बन्ने विश्वास सरोकारवालाले लिएका छन् ।