Breaking

नेपालले बहराइन विरुद्धको खेलमा खायो ५ गोल


काठमाडौँ – फिफा विश्वकप-२०२६ को एसिया छनोटमा नेपाल बहराइनसँग पराजित भएको छ।

बहराइनमा गएराति भएको एसिया छनोटको दोस्रो चरणको खेलमा नेपाल घरेलु टोलीसँग ५-० गोलले पराजित भएको हो। दशरथ रंगशालामा खेल सञ्चालन हुन नसक्ने एसियाली फुटबल महासंघको निर्णयपछि पहिलो लेगको खेल्न नेपाल बहराइन गएको थियो।बहराइनको राष्ट्रिय स्टेडियममा मोहम्मद अल हुमइदिनले तेस्रो मिनेटमै नेपालविरूद्ध गोल गरेका थिए।

त्यसपछि नवौं मिनेटमा बरेनले इन्ज्युरी समयमा बकरले गोल गर्दा नेपाल पहिलो हाफमा ३-० गोलले पछि परेको थियो। ८८ औं मिनेटमा इब्राहि अल खतलले गोल गरे। ९० मिनेटपछि थप गरिएको छैटौं मिनेटमा बहराइनले पेनाल्टी पाएको थियो। त्यसलाई अब्दुल लतिफले सदुपयोग गरेपछि पहिलो लेगमा नेपाल ५-० गोलले पराजित भएको हो।

यससँगै छनोटमा नेपाल लगातार तीन खेलमा पराजित भएको छ। अब मंगलबार बहराइनमै दोस्रो लेग खेल्नेछ।समूह ‘एच’ मा रहेको नेपाल पहिलो खेलमा युएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो। पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।