Breaking

काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन


काठमाडौं । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ ।


प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ । आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्नुभएको हो । उहाँले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताउनु भयो ।

उहाँले आफैँले आफैँलाई कारबाही गरेको नजिर नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने बताउनु भयो । सांसद गिरीले यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै टालटुले जवाफले नहुने बताउनु भयो । उहाँले स्वार्थको द्वन्द्ध हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनि प्रश्न गर्नुभयो ।