Breaking

गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्ने देखिएन : प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ ।


आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीको ब्रिफिङ रहेको बताउनुभएको हो । उहाँले रवि लामिछानेको पार्टी सरकारमा आउने चर्चा चलेपछि यो विषयलाई संसदको काम, कारबाही नै प्रभावित हुनेगरी उठाइएको बताउनु भयो ।

उहाँले हालसम्मको अनुसन्धानले गृहमन्त्री लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनैपनि जिम्मेवारी र भुमिकामा नरहेको बताउनु भयो । अदालतमा विचाराधिन मुद्दामा पनि उहाँको नाम कतै नजोडिएको प्रधानमन्त्री दाहालले बताउनु भयो । पूरक जाहेरी दिँदापनि गृहमन्त्री लामिछाने संलग्न भएको कुनै आधार र प्रमाण पेश नगरिएकोले प्रहरीले जाहेरी दर्ता गर्नु आवश्यक नठानेकाले जाहेरी दर्ता नगरेको बताउनु भयो ।

प्रधानमन्त्रीले सुशासन कायम गर्ने आफ्नो प्रतिवद्धतामा कुनै सम्झौता नहुने बताउनु भयो । अनुसन्धानमा कैफियत भएमा गृहमन्त्री लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने बताउनु भयो ।