Breaking

महराको पतनः नारीदेखि सुनसम्म, जनयुद्धका सेकेन्ड कमान्डर, गणतन्त्रमा सकिए, बाउछोरै जेलमा


काठमाडौँ – हेर्दा निकै शालीन र भद्र तर भित्रभित्रै काण्डैकाण्डले भरिएका नेता हुन्, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा । अनेक काण्ड मच्चाएका महरा अहिले सुन प्रकरणमा प्रहरी हिरासतमा पुगेका छन् । जनयुद्ध हुँदै राष्ट्रिय राजनीतिमा उदाएका पार्टीभित्र सबैका प्रिय शक्तिशाली पार्टी नेता त्यो पनि आफ्नै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा प्रहरीको हिरासतमा पुगेपछि माओवादीभित्र हलचल मच्चिएको छ ।
झट्ट हेर्दा निकै शालीन र भद्र देखिने माओवादीभित्र धेरैका प्रिय ‘महरा सर’लाई अपुग केही थिएन । भूमिगत विद्रोही हुँदा होस् या संसदीय राजनीतिमा प्रवेशपछि पार्टी नेतृत्वसँग बार्गेनिङ गरेरै सही सधैँ लाभको पदमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पार्टीभित्र सबैको प्रिय र शक्तिशाली नेता हुन् । जनयुद्ध सुरु हुनुअघि रोल्पामा शिक्षक रहेका महरा माओवादी नेता, कार्यकतालाई माओवाद पढाउने नेतामा पर्छन् । महराकै कारण रोल्पा माओवादीको किल्ला बनेको भन्दा फरक पर्दैन । माओवादी द्वन्द्वको उत्कर्षमा हुँदा पार्टीको प्रवक्ता, शान्ति प्रक्रियाताका सरकारसँग वार्ता टोलीका संयोजकदेखि पछि माओवादी शान्ति प्रक्रियामा आएसँगै महराले सधैँ लाभको पद नै पाए ।

जनयुद्ध पूर्व शिक्षक रहेका महरा संसदीय राजनीतिमा सधँै सत्ता वरपर नै रहे । तीन पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री भए । माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टी अध्यक्ष प्रचण्डको नजिक भएकै कारण माओवादी नेताहरुमध्ये सबैभन्दा बढी फाइदामा रहेका महराले गृह, अर्थ जस्ता मालदार मन्त्रालयकोसमेत जिम्मेवारी सम्हाले भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनबाट बहुमत हासिल गरेपछि धेरै नेताहरुलाई बाइपास गर्दै निर्विरोध सभामुख पद हात पार्न सफल भएका थिए । सधैँ सत्ता र शक्तिकै वरपर रहेका महराको सान र मान नहुने कुरै भएन । तर भनिन्छ नि धन देख्दा महादेवको पनि तीन नेत्र खुल्छ भनेझै ‘महरा सर’ सुनमा लोभिएपछि भने सर्वश्व गुमाउनु पर्ने अवस्थामा पुगेका छन् । सुन तस्करी प्रकरणमा संलग्न रहेका छोरा राहुल पक्राउ परेको सात महिनापछि सोमबार महरा पनि कपिलवस्तुबाट सीआईबीको फन्दामा परे ।

हेर्दा जति भलादमी देखिन्छ भित्रभित्रै अनेक काण्डको जञ्जालमा महराको संलग्नता पुष्टि हुँदै गएको छ । विभिन्न विवादमा मुछिएकै कारण महराले पाएको लगभग सबै पद र भूमिका विवादरहित बन्न सकेन । संसद सचिवालयको आफ्नै महिला कर्मचारीमाथि बलात्कारको आरोपमा सभामुख पद गुमाएका महरा अहिले सुनको रोशनीमा फस्दा राजनीतिक विरासत गुमाउने अवस्थामा पुगेका छन् । जनआन्दोलनपछि बनेको नयाँ सरकारको सूचना तथा सञ्चारमन्त्री हुँदा नै फ्रिक्वेन्सी ‘प्लटिङ’ अर्थात कौडीको भाउमा फ्रिक्वेन्सी बेचेर राजनीतिमा विवादको यात्रा सुरु गरेका महरा अहिले सुनसम्म पुग्दा राजनीतिक जीवन सखाप पार्ने अवस्थामा पुगेका छन् । चिनियाँ व्यवसायीसँग ५० करोड रुपैयाँ मागेको अडियो टेप प्रकरण, अर्थमन्त्री हुँदा रोल्पामा करोडौं गैर बजेटरी रकमान्तर गरेको भन्दै अख्तियारले छानविन नै गरेको थियो । अझ शिविरमा रहेका माओवादी लडाकुलाई सरकारले दिने पैसा आफ्नो नाममा चेकमार्फत बुझेका कारण पनि उनी विवादमा तानिएका थिए । अनेक विवादकाबीच कहिल्यै रणभुल्ल नभएका महरा अहिले प्रहरी हिरासत पुगेपछि रन्थनिएका छन् ।