समाचार

१७ औँ बज्रगुरू मन्त्रजप सोलुखुम्बुको थुलुङ दुधकोशी देछेन छोलिङ गुम्बामा जारी


काठमाडौँ – १७ औँ बज्रगुरू मन्त्रजप पूजा कार्यक्रम सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको कुरिमा स्थित देछेन छोलिङ गुम्बा कुरिमामा चलिरहेको छ ।

चैत ३ गतेबाट सुरु भएको बज्रगुरु मन्त्रजप कार्यक्रम चैत १२ गतेसम्म चल्नेछ । सम्पुर्ण मानव जगत र प्राणिहरुको हित तथा विश्वशान्तिको कामना सहित १० करोड बज्रगुरु मन्त्रजप कार्यक्रम आयोजना गरिएको मुल आयोजक धर्मडाँडा शेर्पा समाजले जनाएको छ ।

महायानीबौद्ध धर्मावलम्बीहरुको परम पूज्यनीय धर्मगुरुहरु ३२ औं क्याब्जे ठुल्सिक रिन्पोछे अवतारी ङवाङ जिग्मे ठिन्ले कुन्ख्याब रिन्पोछे, ज्यासा गोन्पाका प्रमुख लामा ङिमा सङ्पो रिन्पोछे, सेर्लो गोन्पाका प्रमुख लामा टुल्कु पेमा थर्छिन रिन्पोछे, सेङ्दा टुल्कु रिन्पोछे, हलेसी गोन्पाका प्रमुख लामा लामा कर्म रिन्पोछे, विभिन्न जिल्लाका गोन्पाहरुबाट खेन्पो, लोपेन झन्डै चार सय बढी भिक्षु भिक्षुनीहरु पुजामा सहभागी छन ।

सोलुखुम्बु सहित अन्य विभिन्न जिल्लाका दुई सय भन्दा बढी श्रदालु भक्तजनहरु कार्यक्रममा उपस्थित बज्रगुरु मुल आयोजक समितिका महासचिव आङ गोम्बु शेर्पाले जानकारी दिनुभयो । बज्रगुरू कार्यक्रमको उद्घाटन सोलुखुम्बु जिल्लाबाट निर्वाचित प्रदेश सांसद गोम्बु काज्र्याङ शेर्पा, थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख अशिम राई, उपप्रमुख सविता राई सहित स्थानीय जानप्रतिनीधिको सहभागिता रहेको थियो । ज्यासा गोन्पाका प्रमुख लामा ङिमा सङ्पो रिन्पोछे र सेङ्दा टुल्कु रिन्पोछे पुजा अवधिभर नै रहनुहुने र पुजाको अन्तिम दिन साङ्गे राङ्ज्युङ रिन्पोछेको उपस्थित हुने आयोजकले जनाएको छ ।