Breaking

‘वान साइट लभ’ले जिन्दगी सखाप, सुष्माका प्रेमीको बयान, यसरी भएको थियो शिवपुरी घटना


काठमाडौँ – काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुष्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टअनुसार ‘घाँटी दबाएर’ उनको हत्या गरेको देखिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले गोकर्णेश्वर नगरपालिकाकी सुष्मा लामाको हत्यामा संलग्न २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरीसार्वजनिक गरेको छ ।शुक्रबार राति पक्राउ गरिएका लामालाई आइतबार सार्वजनिक गरिएको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरस्थित १२ कक्षामा अध्ययनरत १८ वर्षीया सुष्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन् गरेको थियो । हत्या आरोपी लामा पनि गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय हुन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि आरोपी लामाले सुष्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गत माघ २२ गतेदेखि कलेज जान भनेर हिँडेकी सुष्मा बेपत्ता थिइन् । उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो । फागुन २५ गते गाडिएको अवस्थामा फेला परेको शव उत्खनन् गरेपछि सनाखत भएको थियो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा२१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको हो । हत्या आरोपी लामाले सुष्मालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि स्वीकार नगरेपछि हत्या गरेको स्वीकारेको प्रहरी नायब उपरीषक(डीएसपी) अनिल घिमिरेले बताए।

सुष्मा बुढानीलकण्ठस्थित बुढानीलकण्ठ माविमा पढ्थिन् ।विगत ८ महिनादेखि सुष्मासँग ‘एकोहोरो प्रेम’ मा परेका रुपेन्द्रले उनको हत्या गर्न ८ दिनसम्म क्याम्पस जाने बाटोमा ढुकेर बसेका थिए । गोकर्णेश्वर नगरपालिका–३ बाट बुढानीलकण्ठ पढ्न जाने उनीसँगै अरु दुई जना पनि थिए । माघ २२ गते बिहान भने सुष्मा एक्लै कलेज गएको अवस्थामा बाटो ढुकेर बसेका उनले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।सुष्मालाई पछाडिको भागबाट घाँटीमा अँठ्याएपछि पनि रुपेन्द्रले प्रेम प्रस्ताव गरेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीषक(डीएसपी) घिमिरेले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टअनुसार ‘घाँटी दबाएर’ उनको हत्या गरेको देखिएको छ ।रुपेन्द्रले योजनाबद्ध रूपमा ४ दिन अघिदेखि झोलामा कुटो बोकेर रेकी गरेका थिए ।हत्यापछि कुटोले खाल्डो खनेर पुरेको अनुसन्धानबाट खुलेको छ । शव उत्खनन् गर्दा मृतकको कम्मर पेटी खोलेर हातमा बाँधेको र घाँटीमा मृतककै टाइले बाँधेको अवस्थामा भेटिएको थियो । हत्या गरेर करिब ४५ मिनेटमा आरोपीले शव व्यवस्थापन गरी नजिकै रहेको घरमा फर्केको प्रहरीको निष्कर्ष छ ।

माघ २२ गते कलेज जान भनी निस्किएकी सुष्मा सम्पर्कमा आइनन् । माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोष्ट गर्दै आफू ३ दिनमाआउँछु भनेर पोष्ट गरिन् । परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो । एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै युवतीको शव गाडिएको अवस्थामा फेला परेको थियो । शव फेला परेको भोलिपल्ट २५ गते प्रहरीले उत्खनन् गरेपछि एक महिना अगाडि हराएकी सुष्माको पहिचान भएको थियो ।