Breaking

बेथिति चिर्दै बिराजभक्त, एकपछि अर्को कदम, खेलाडीमा आश, टोले गुन्डा र राजनीतिक भागबन्डा चुनौती


काठमाडौँ -सुरुवाती दिनहरूमा नै ऐनको डण्डा चलाएका खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ खुट्टा नकमाई अघि बढ्ने सङ्कल्पसहित मैदानमा उत्रिएका छन् । उनको आगमनसँगै कम प्राथमिकतामा पर्ने खेलकुद क्षेत्रमा केही सकारात्मक सन्देश प्रवाह हुन थालेका छन् । बजेटदेखि कामकारबाहीमा पनि सधैं ओझेलमा परेको खेलकुद क्षेत्रले नयाँ नेतृत्व पाएसँगै आशा पलाएको छ ।

अन्य क्षेत्रभन्दा गुमनाम जस्तै हुने युवा तथा खेलकुद मन्त्रालय अहिले भने चलायमान बन्न थालेको छ । मन्त्रालयको नाम जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका युवा सांसद विराजभक्त श्रेष्ठ नेतृत्वमा आइसकेपछि यो मन्त्रालयले गति लिन थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्दै मन्त्रालयमा हेरफेर गरेपछि प्राय कम प्राथमिकतामा पर्ने गरेका खेलकुद मन्त्रालय जुर्मुराउन थालेको हो । मन्त्रालयमा मन्त्री श्रेष्ठको आगमन भएसँगै खेल क्षेत्रमा एकपछि अर्काे झट्का दिइरहेका छन् । मन्त्री भएकै दिन उनले खेल क्षेत्रमा राजनीति मौलाएको भन्दै त्यसलाई अन्त्य गर्ने घोषणा गरेका थिए । खेलाडीको वृत्ति विकासका लागि खेलकुदसँग जोडिएका संस्थाले भूमिका खेल्नु पर्नेमा त्यसलाई देखाएर राजनीति हुँदा विकृति छाएको भन्दै मन्त्री श्रेष्ठले राजनीतिलाई अन्त्य गर्ने बताएका छन् । मन्त्री नियुक्त भएको दश दिन पुग्दै गर्दा उनले चालेका कदमको असर खेलकुद क्षेत्रमा देखिन थालेको छ । राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति नलिइ खेलाडीसँगै मलेसिया गएका अखिल नेपाल फुटबल संघलाई (एन्फा) उपाध्यक्षसहित १० जनालाई कारबाही गर्न मन्त्रालयले निर्देशन दिएको थियो । राखेपले पनि एन्फालाई पत्र काट्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । त्यस्तै, मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी नहुँदा सम्मका लागि खेल बाहेकका अन्य गतिविधिमा रोक लगाउन राखेपलाई निर्देशन दिएको छ । खेलाडीको नाममा मानव तस्करी गरिरहेका प्रशिक्षकहरूलाई कारबाहीको दायरामा ल्याउने बताएका श्रेष्ठ पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउने योजनामा छन् ।

खेलकुदमा अनुशासन अपरिहार्य नै हो । त्यसैले मन्त्री श्रेष्ठले खेलकुद नै अनुशासनमा छैन भने त्यसले कुनै अर्थ नराख्ने उल्लेख गर्दै खेलकुदलाई सही बाटोमा ल्याउन ऐनको कार्यान्वयनमा निर्मम बन्नुपर्ने औँल्याएका छन् । खेल क्षेत्रमा बसेर राजनीति गर्न पल्केकाहरुलाई मन्त्री श्रेष्ठले चुनावमा गएर राजनीति गर्न सुझाएका छन् । उनले दशकौंदेखिको बेथितिलाई अन्त्य गर्न चुनौती रहे पनि त्यही बेथितिको अन्त्य गर्न नेतृत्वमा आएको बताएका छन् । यसका लागि सबैको साथ सहयोग पाए दृढ संकल्पसहित मैदानमा उत्रिएर काम गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

जुनसुकै क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयको नेतृत्व सक्षम हुन आवश्यक छ । तर, सबै जना आफ्नो स्वार्थमै केन्द्रित हुँदा खेलकुद जस्तो कम बजेट पर्ने मन्त्रालयको जिम्मा लिन अधिकांशले चाहँदैनन् । सरकारको प्राथमिकतामा खेलकुद क्षेत्र कम पर्ने हुँदा खेलाडी र योसँग सम्बन्धित सबै निकायहरु लाचार बन्नु परिरहेको अवस्था छ । जसको प्रत्यक्ष असर भने खेलाडी र यससँग सम्बन्धित संस्थाले भोग्नु परिरहेको छ । यसअघि मन्त्रालयको नेतृत्व नै असक्षम हुँदा खेल क्षेत्र रुग्ण बन्दै गएको थियो । तर, मन्त्री श्रेष्ठको आगमनले भने केही आशा जगाएको छ । यद्यपि, खेलकुद क्षेत्रमा व्याप्त भ्रष्टाचारको जालोलाई तोड्न भने त्यति सहज नभएको र एक जना मन्त्रीको पहलले मात्रै सम्भव नभएको जानकारहरु बताउँछन् ।

मन्त्री भएकै भोलिपल्टै उनले घाइते रहेकी राष्ट्रिय महिला फुटबलको उदयीमान मिडफिल्डर प्रीति राईलाई अस्पतालमै पुगेर भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । साथै मन्त्री श्रेष्ठले राईको उपचारमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । त्यसो त देश र जनताको सेवा गर्न राजनीतिमा छिरेर जिम्मेवार मन्त्रालयको शपथ खाएकाहरूकै प्राथमिकतामा खेलकुद क्षेत्र पर्न सकेको छैन । राज्यकै कम ध्यान गएको खेलकुद क्षेत्रको विकासका लागि जति बजेट जाने गरेको छ, त्यो बजेटको समेत दुरुपयोग हुँदा नेपालको खेलकुद क्षेत्र लथालिंग नै छ । लथालिंक खेलकुद क्षेत्रमा व्याप्त बेथिति र त्यही बेथितिमा खेलेर भ्रष्टाचार गर्न पल्केका नेतादेखि चुन्द्रेमुन्द्रे तथा टोले गुन्डाहरुलाई तह लाउनु मन्त्री श्रेष्ठका लागि ठूलो चुनौती देखिन्छ । यद्यपि, खेल क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठले चालेका कदम सकारात्मक छन् । आफैँले रोजेर खेलकुद मन्त्रालय गएको बताउने मन्त्री श्रेष्ठलाई ‘प्लेयर अफ दि म्याच’ भने जस्तै मन्त्रालयको डेब्युमा नै उत्कृष्ट मन्त्री हुने अवसर पनि छ ।