Breaking

शिवपुरी जंगलमा युवतीको हत्या गरी गाड्ने आरोपी पक्राउ


काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ २२ गतेदेखि कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरकी १८ वर्षीया सुस्मा लामा बेपत्ता थिइन् । उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो भने फागुन २५ गते उत्खनन् गरी सनाखत भएको थियो ।

प्रहरीले हत्यामा संलग्न गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरका २१ वर्षिय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरी अधिकारीका अनुसार हत्या आरोपी व्यक्तिले सुस्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रश्ताव राख्दापनि स्वीकार नगरिएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन् भएको जनाइएको छ । अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताव कापी समेत बरामद भएको छ ।