समाचार

सांसद मन्जु शर्मा अन्सारीको निधन


काठमाडौँ— प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएको छ । उनी जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट समानुपातिक सांसद थिइन् । उपचारका क्रममा आज बिहान मीनभवनस्थित सिभिल अस्पतालमा अन्सारीको निधन भएको जसपाले जनाएको छ ।

हृदयाघातका कारण उनको निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए । “विगत केही दिनदेखि उहाँ (सांसद मन्जु शर्मा)लाई गाह्रो भएको थियो । राति थप गाह्रो भएपछि अस्पताल लगियो । बिहान निधन भयो,” उनले भने ।

वि.सं. २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी ०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको ०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा उनी सांसद बनेकी थिइन् ।