अन्तर्राष्ट्रिय

रुसमा थप शक्तिशाली बनेर उदाए पुटिन, निर्वाचन नाटक मात्रै, विश्व राजनीतिमा कस्तो आउँला तरंग ? (भिडियोसहित)


काठमाडौँ— रुसमा नयाँ राष्ट्रपति निर्वाचनका लागि मतदान चलिरहेको छ । शुक्रवारबाट सुरु भएको मतदान आइतवारसम्म चल्नेछ । राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौं कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छन । राष्ट्रपतिको चुनावमा पुटिन सहित चार जना चुनावी मैदानमा छन । पार्टीगत उम्मेदवार उठेका तीन जना उम्मेदवारलाई पन्छाउँदै स्वतन्त्र पुटिनले नै ८० प्रतिशतभन्दा बढी मतले निर्वाचन जित्ने प्रक्षेपण गरिएको छ ।

युद्धग्रस्त रुस बम बारुदलाई छिचोल्दै नयाँ राष्ट्रपति छान्ने चुनावमा होमिएको छ । चुनावलाई ‘प्रहसन’ भन्दै सीमा क्षेत्रमा युक्रेनले घातक हमला बढाई रहेका बेला रुस युक्रेनसँग युद्ध लडिरहेको छ भने रुसी नागरिक नयाँ राष्ट्रपति छान्न मतदानमा व्यस्त छन । शुक्रवारदेखि सुरु भएको मतदान आइतवारसम्म चल्नेछ । यो पटक रुसमा गाभिएको घोषणा गरिएका युक्रेनका क्राइमिया, जापोरिजिया, दोनेत्स्क, लुहान्स्क र खेर्सोन प्रान्तका नागरिकले समेत मतदानमा भाग लिने जनाइएको छ । जारी राष्ट्रपतिको निर्वाचनमा करिब ११ करोड ४२ लाख मतदाताले मतदान गर्ने उल्लेख छ ।


रुसको भावी राष्ट्रपतिको दौडमा हालका राष्ट्रपति भ्लादिमिर पुटिन सहित चार जना चुनावी मैदानमा छन । स्वतन्त्र उम्मेदवार बनेका ७१ वर्षीय पुटिन पाँचौं कार्यकालका लागि चुनाव लड्दै छन् ।
पुटिन पाँचौ कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा मैदान उत्रिदा उनका प्रतिद्धन्दीको रुपमाकम्युनिस्ट पार्टी अफ रसियन फेडरेसनका निकोलाई खारितोनोभ, लिबरल डेमोक्र्याटिक पार्टी अफ रसियाका लिओ–निद स्लु–तस्की र न्यु पिपुल पोलिटिकल पार्टीका भ्लादिस्लाभ दाभान्कोभ छन् ।


यद्यपी शक्ति र जनमतका हिसावले पुटिन आफ्ना तीनै जना प्रतिस्पर्धि भन्दा अव्वल मानिन्छन् । उनका लागि उनिहरु टक्कर दिने उम्मेदवार नभएर निर्वाचन प्रक्रियामा सामेल भएका प्रतिस्पर्धिको रुपमा हेरिएको छ।
रुसमा राष्ट्रपतिमा निर्वाचित हुन कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याए पुग्छ तर यो निर्वाचनमा पुटिनले सहजै ८० प्रतिशतभन्दा बढी मतले चुनाव जित्ने प्रक्षेपण गरिएको छ । आफ्नो जित सुनिश्चित भएको बुझेका पुटिनले यो निर्वाचनलाई जनताले मताधिकार प्रयोग गर्ने अधिकार हनन् नहोस भन्नका लागि निर्वाचन गराईएको दाबी गरेकाछन् ।

सन् २००० मे ७ देखि लगातार दुई कार्यकाल राष्ट्रपति बनेका पुटिन सन् २००८ मा कानुनी प्रावधानका कारण राष्ट्रपति पदबाट बाहिरिएका थिए । सन् २००८ मा उनले आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपतिमा निर्वाचित गराउँदै आफु प्रधानमन्त्री बनेका थिए । अहिले
मेदभेदेभको कार्यकालमा राष्ट्रपतिको पदावधि बढाएर ६ वर्ष पु¥याएपछि सन् २०१२ मा तेस्रो पटक राष्ट्रपतिमा फर्किएका पुटिन २०१८ मा चौथो पटक निर्वाचित भएका थिए । चेचेन्यासँगको द्वन्द्वबाट व्यवस्थित सैन्य कारबाही गर्दै चेचेन्या विद्रोहीलाई तह लगाएपछि रुसको राजनीतिमा उदाएका पुटिन अहिले पाँचौ कार्यकालका लागि चुनावमा छन । अझ पुटिने २०२१ मा नयाँ कानुनमार्फत थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गरिसकेका छन । ७१ वर्षीय पुटिन कानुनतः अझै दुई कार्यकाल (१२ वर्षसम्म) राष्ट्रपति हुन पाउनेछन । स्वतन्त्र पुष्टिका लागि निर्वाचनको परिणाम कुर्नु पर्ने भएपनि रुसको राष्ट्रपतिमा फेरि पुटिन आउने लगलग निश्चित जस्तै छ।