Breaking

एमालेलाई हाम्रो सास पनि बास्न आउन थालेको छ :माधव नेपाल


काठमाडौँ— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेलाई आफ्नो पार्टीको सास बास्ना आउन थालेको टिप्पणी गरेका छन् । काभ्रेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै हिजोको राजनीतिक कटुतालाई भूलेर अघि बढ्ने बताए ।

उनले भने, ‘अहिले फेरि हिजो एमाले एकीकृत समाजवादी भएको ठाउँमा बस्नै नसक्ने, सासै गनाउने स्थिति थियो । अहिले बास्ना आउन थालेको छ । त्यस्तो हुन्छ । कटुता भएको बेलामा मन पर्दैन । अविश्वास बढेको बेलामा शंका हुन्छ । तर, तपाईंहरुले सुन्नुभएकै छ राजनीतिमा कहिलेपनि स्थायी शत्रु हुँदैन । मित्र पनि हुँदैन । यो कुरालाई ध्यान गर्नुपर्छ ।’

उनले अहिले एकीकृत समाजवादी एमालेमा मिल्ने भनेर भएको हल्ला सत्यता नभएको जिकिर गरे ।

उनले थपे, ‘हाम्रो पार्टी कुनै पार्टीसँग मिल्न गइरहेको छैन । हाम्रो पार्टीको आफ्नै विचार र धारणा छन् । नेपालको राजनीतिमा हाम्रो छुट्टै पहिचान, अस्तित्व र भूमिका छन् त्यसलाई अरुले बुझ्दैछन् । अब हामी सबै वामपन्थी लोकतान्त्रिक शक्तिहरुलाई समेटेर अघि बढ्न चाहन्छौं । यो साझा उद्देश्यका लागि एउटै गठबन्धनमा बसेर होस् वा अलगअलग मोर्चामा बसेको अवस्था होस् उद्देश्यलाई बिर्सन हुँदैन ।’

उनले देश फेरि निर्वाचनमा नजाओस् भन्ने चाहेर नयाँ समीकरणमा सहभागी भएको बताए । प्रचण्डसँग ४० र ओलीसँग ५० वर्षको सम्बन्ध रहेको बताउँदै पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जाने तयार भएको बताए ।