समाचार

राष्ट्रपति पौडेलले गरे महोत्तरीमा बाबा जलेश्वरनाथको पूजा


काठमाडौँ— राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी पुगेका राष्ट्रपति पौडेलले जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराए । उनले मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजा अर्चना गरेका थिए ।

यसअघि राष्ट्रपति पौडेलले आज बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्वा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरेका थिए ।

बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्व खेलकुद मन्त्री स्वर्गीय गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन गएका थिए ।