खेलकुद

‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिताको उपाधी तेन्जिङ र सिर्जनालाई


काठमाडौँ — काठमाडौं । पहिलो पटक आयोजित ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सम्पन्न भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा उक्त प्रतियोगितामा पुरुषतर्फ तेन्जिङ राई र महिलातर्फ सिर्जना तामाङ प्रथम भएका छन् । उनीहरुले नगद ५० हजार प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो र तेस्रो क्रमशः पुरुषतर्फ क्रमशः रोनक उप्रेती र साजन लामा भए । यसैगरी महिलातर्फ दोस्रो र तेस्रो स्थान क्रमशः स्वास्तिका चौधरी र प्रेरणा राई भइन । उनीहरुले क्रमशः ३० हजार १५ हजार नगद पुरस्कार प्रदान गरेका थिए ।

सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए । उक्त प्रतियोगिता पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गरेको थियो । यस किसिमको प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले बताए ।

साथै प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने समेत जानकारी दिए । यस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको थियो । प्रतियोगिताको मुख्य निर्णायक छिरिङ जाङबु शेर्पा, निर्णायक ज्याम्चाङ भोटे, निर्णायक पिम्बा तेन्जिङ शेर्पा रहेका थिए । स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान पर्वतारोही मानिन्छ ।

उनले जीवित हुँदा सगरमाथामा ३ वटा विश्व किर्तिमान बनाएका थिए । उनले सर्बोच्च शिखर सगरमाथाको १० पटक सफल आरोहण तथा सगरमाथाको सबैभन्दा छिटो, १६ घण्टा ५६ मिनेटमा सफल आरोहण गरेका थिए । साथै बाबु छिरी सगरमाथाको चुचुरोमा बिना अक्सिजन २१ घण्टा सम्म बसेको विश्व किर्तिमान अहिले कायम नै छ ।