Breaking

सहकारी पीडितले नै थाल–चम्चा बजाएर रविसँग गुहार मागे, जीबीको फोटो प्रदर्शन, VIP ठगको मस्ती


काठमाडौँ – लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरु फेरि सडक संघर्षमा उत्रिएका छन् । निक्षेपको साँवा–ब्याज फिर्ता माग गर्दै सहकारी पीडितहरूले बिहीवार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

ठगी गरेका सहकारीका संचालकहरूलाई कारबाही र आफ्नो फसेको बचत रकम फिर्ता हुनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत सहकारी पीडितहरुले सडक आन्दोलन थप चर्काएका छन् । बिहीबार काठमाडौंको सडकमा उत्रिएका सहकारी पीडितहरुले विभिन्न मागसहितका प्लेकार्डसहित प्रदर्शन गरे । निक्षेपको साँवा–ब्याज नै फिर्ता हुनुपर्ने माग राखेर विगत दुई वर्षदेखि सहकारी पीडितहरु आन्दोलनरत छन् ।

सरकारले चाहेको अवस्थामा सहकारी पीडितहरुको माग पूरा गर्न सात दिन पनि नलाग्ने तर सरकारले नै यो विषयलाई सुल्झाउन नचाहेको पीडितहरुको गुनासो छ । माग सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने पक्षमा उनीहरु छन् । फेरिएको सत्ता समीकरणपछि सडक संघर्षमा रहेका पीडितहरु समस्या समधान गर्न सरकारले देखाएको तदारुकताका कारण पनि केही आशावादी देखिएका छन् ।

सत्ता समीकरण फेरिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने सडक संघर्षमा रहेका समूहहरुको समस्या समाधानका लागि सक्रिय बनेका छन् । पीडितको माग सम्बोधनका लागि सरकारले एक पछि अर्को समूहसँग सहमति र वार्तालाई अगाडि बढाएको छ । लामो समयदेखि सडकमा आन्दोलनरत मिटरब्याजी पीडित, लघुवित्ति पीडित तथा लामो समयदेखि अनसनरत आरती शाहको परिवारसँग समेत सहमति गरेर सडकबाट पन्छाउन सफल सरकारले सहकारी पीडितको समस्या सुनुवाइका लागि पनि चासो देखाएको छ । सत्ता समीकरण फेरबदलपछि नयाँ सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले सदनमा नै सहकारी, मिटरब्याज पीडित र लघुवित्त वित्तीय संस्थाका समस्या समाधान गर्न आफू लागि परेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले सहकारीसँग जोडिएका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा गठित कार्यदलले दिएका सुझाव कार्यान्वयन भइरहेको बताएका थिए ।

सडकदेखि सदनसम्म प्रवेश पाएका यी विषयहरु प्रतिपक्षले मात्र होइन सत्तापक्षकै नेताहरुको समेत राजनीतिक एजेन्डा बन्दै आएको छ । अझ बहालवाला गृहमन्त्री आफैँ सहकारी ठगी मुद्दामा मुछिएका कारण पनि यो विषय थप पेचिलो बन्दै गएको छ । सहकारी ठगी प्रकरणमा संलग्नलाई सहकारी ठगीमा मुछिएका बहालवाला गृहमन्त्रीले पक्राउ गर्ने आँट गर्लान् ? सहकारी पीडितको समस्यामा सहानुभूति देखाउँदै आएको सरकारले भीआइपी सहकारी ठगहरुलाई पक्राउ गर्ने ल्याकत राख्ला ? लाखौँ सहकारी पीडितहरुको संघर्षलाई कसरी साम्य पार्दै उनीहरुको माग सम्बोधन गर्न पहल कदमी अगाडि बढाउँछ ? यो प्रश्न चोटिलो रुपमा उठिरहेको छ ।