Breaking

रुस–युक्रेन युद्धले अर्को मोड लिँदै, नेपाली झनझन् सिकार बन्दै, पक्राउ परेकाको हारगुहार


काठमाडौँ – रुसले युक्रेनमाथि हमला गरेको २ वर्षभन्दा बढी समय भएको छ । तर यतिका समयसम्म युद्ध हुँदा पनि रोकिने कुनै संकेत देखा परेको छैन । बरु अझै रुसले प्राविधिक रुपमा परमाणु युद्धका लागि तयार रहेको र अमेरिकाले युक्रेनमा आफ्नो सेना पठायो भने युद्ध थप भड्किने बताएको छ । यसले युद्ध झनै लम्बिने संकेत देखाएको छ ।

रुस र युक्रेनबीच चलिरहेको युद्ध अझै लामो समयसम्म चल्ने सम्भावना बढ्दै गएको छ । यो युद्धमा रुसले आफ्नो जितलाई जति सहज देखेको थियो, यथार्थमा यो अत्यन्त कठिन एवं भयावह हुँदै गएको छ । रुसले सुरु गरेको यो युद्ध प्रारम्भमा आक्रामक अवस्थामा थियो भने अहिले रक्षात्मक अवस्थामा परिणत हुँदै गएको छ । रुसका विरुद्ध अमेरिकी प्याक्टबाट अझ बढी लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराइयो भने रुस परमाणु क्षेप्यास्त्र प्रहार गर्न बाध्य हुनेछ । यसले तेस्रो विश्व युद्धलाई सहजै निम्त्याउने टिप्पणी भइरहेको छ । रुस–युक्रेन युद्ध जति लम्बिदै छ त्यति नै समस्या निम्तिदै जाने छ ।
त्यसो त नेपालले युक्रेनमा भइरहेको रुसी आक्रमणको विरोध गरेको थियो । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोग गलत भएको भन्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेको थियो । यसका साथै रुसी सेनामा भर्ती भएका नेपालीले उद्धारका लागि लामो समयदेखि गुहार मागिरहेका छन् । तर युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेकै कारण रुसले नेपालीको उद्धारका लागि भइरहेको पहललाई चासो दिएको छ । यस्तै, रुसी सेनामा भर्ती भइ युक्रेन विरुद्धको लडाइँमा पक्राउ परेका नेपालीलाई युक्रेनले समेत रिहा गरेको छैन । नेपालले युक्रेनको समर्थन गर्दासमेत गिरफ्तारमा परेका नेपालीलाई किन रिहा गरिरहेको छैन भन्ने प्रश्न उठ्न थालेको छ । झनै युद्धको भुङग्रोमा फस्दै गएको अवस्थामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई चेतावनी दिएका छन् ।


रुस प्राविधिक रुपमा परमाणु युद्धका लागि तयार रहेको र अमेरिकाले युक्रेनमा आफ्नो सेना पठायो भने युद्ध थप भड्किने उनले बताएका छन् । रुसविरुद्ध लड्न अमेरिकाले ठूलो मात्रामा हातहतियार सहयोग गरिरहेको अवस्थामा सेनासमेत पठाउने चर्चाका बीच पुटिनले यस्तो चेतावनी दिएका हुन् । यसका साथै रुसमा राष्ट्रपति निर्वाचन हुन अब केही दिन मात्रै बाँकी रहँदा पुटिनको यो अभिव्यक्ति आएको हो । यस निर्वाचनपछि उनी अर्को ६ वर्षका लागि सत्तामा रहने निश्चित प्रायः छ । परमाणु युद्ध हुन सक्ने परिदृश्य अहिले नदेखिएको र युक्रेनमा परमाणु अस्त्र नै चलाउन जरुरी आफूले नदेखेको पनि उनले बताएका छन् । तर सैन्य र प्राविधिक हिसाबले आफूहरू तयार रहेको पुटिनको भनाइ छ ।
परमाणु युद्धका लागि रुस तयार छ कि छैन भनेर सोधिएको प्रश्नको उत्तर दिने क्रममा रसिया–१ टिभी र समाचार एजेन्सी रियासँगको कुराकानीमा पुटिनले यस्तो जवाफ दिएका हुन् । अमेरिकाले युक्रेनमा आफ्नो सेना पठाएमा यसलाई रुसले हस्तक्षेप ठान्ने कुरा अमेरिकाले बुझेको पनि उनले बताएका छन् । युक्रेनमा रुसले गरेको आक्रमणका कारण अमेरिका र पश्चिमी देशहरूसँगको रुसको सम्बन्धमा सन् १९६२ यताको ठूलो संकट आएको छ । पश्चिमा देशहरुले परमाणु युद्धका लागि आफूलाई भड्काएको भन्दै कयौँ पटक पुटिनले चेतावनी पनि दिँदै आएका छन् । २ वर्षदेखि चल्दै आएको युद्ध कहाँ गएर टुङगिने हो अहिले नै यसै भन्न सकिने अवस्था नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको विश्लेषण छ ।