Breaking

बाबुरामले बैठक बोलाएकामा महिन्द्रको आपत्ति


काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बोलाएको बैठकप्रति अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षधरले आपत्ति जनाएको छ ।

उनी निकट महासचिव रमेशप्रसाद यादवले वक्तव्य जारी गरेर डा। भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको बताएका छन् ।

‘अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक महिन्द्रराय यादवको सहमति बिनै एक पक्षीय रुपमा अध्यक्ष डा.बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकाले ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँछु’, महासचिव यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । भट्टराईले केन्द्रीय कार्यालयको नामबाट बैठक बोलाएका थिए ।
भट्टराईले बैठक बोलाउने र यादवले बैठक नभएको सूचना जारी गर्ने घटनाबाट नेसपाभित्रको विवाद फेरि सतहमा आएको हो । यादव नेकपा माओवादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा उभिदै आएका छन् ।

तर भट्टराईले माओवादी केन्द्रको चिह्नबाट जितेका आफ्ना जनप्रतिनिधिहरुलाई अलग्गै दलको मान्यता दिन माग राखेर निर्वाचन आयोगमा गत २२ फागुनमा निवेदन दिएका छन् । अलग्गै दलको मान्यता दिन निवेदन दिएपछि डा।भट्टराईले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक बोलाएका थिए ।