Breaking

कांग्रेसले प्रधानमन्त्रीलाई सोध्यो रवि लामिछानेलाई गृह मन्त्री बनाउनुको कारण


काठमाडौँ— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘विवादमा मुछिएका’ सांसदलाई गृहमन्त्री बनाएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग जबाफ मागेको छ।

आज प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउनुको कारण सोधेका हुन्।

यसबारेमा बुधबारको बैठकमा पनि कांग्रेसले प्रश्न उठाएको तर प्रधानमन्त्रीले बेवास्ता गरेको उनले बताए।

‘आजै र अहिल्यै देशभरीबाट आएका सहकारी पीडितहरूको प्रदर्शन राजधानीका विभिन्न स्थानहरूमा एकसाथ प्रारम्भ हुँदैछ,’ उनले भने, ‘यस विषम पृष्ठभूमिमा अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने निकायको कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ।ु

‘दुधको दुध पानीको पानी छुट्याएर पीडितलाई न्याय दिने अभिभारा र विवादास्पद नियुक्तिको विरोधाभासमा प्रधानमन्त्रीको धारणा के हो ? यसको जबाफ नेपाली कांग्रेसले खोजिरहेको छ,’ पाण्डेले अगाडि भने।

त्यसो भन्दा प्रधानमन्त्री र गृहमन्त्रीप्रति दलगत आग्रह पूर्वाग्रह र सत्ताबाट बहिर्गमनको संकिर्ण चस्माबाट नहेरिदिन उनले आग्रह गरे।

‘कुरा व्यक्तिगत होइन कुरा गहन राजनीतिक र नैतिक मुद्दाको हो। विषयवस्तुको हो। राजनीतिमा सकारात्मक वा नकारात्क नजिर स्थापित गर्ने संसदीय गरिमा र मूल्य मान्यताको हो,’ उनले भने।

प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारमा उपप्रधानमन्त्रीको पोर्टफोलियोसहित गृहमन्त्रीको जिम्मेदारी अनुसन्धानको दायरामा रहेका सांसदलाई सुम्पेपछि प्रधानमन्त्रीप्रतिको झिनो आशाको भ्रम धुजाधुजा पाण्डेले बताए।

‘आर्थिक निराशा र असुरक्षा चुलिएको वर्तमान अवस्थामा तीन खम्बे अर्थनीतिको तुलनात्मक रूपमा कम मक्किनुपर्ने सहकारी क्षेत्र नै उठ्नै नसक्ने गरी थला पर्नु सामान्य विषय होइन। आफ्नो पेट काटेर थोरै थोरै बचत गर्दै आएका करिब पौने करोड शेयर सदस्यको पसिनाको केही ठगहरूले कुम्ल्याउँदाको परिणाम देशैभर अविश्वास, असुरक्षा र आक्रोश चुलिएको छ,’ उनले भने।

यी प्रश्नको उत्तर दिन कांग्रेसले सभामुखबाट रूलिङ समेत माग गरेको छ।