समाचार

दिलिपका परिवारले गृहमन्त्री लामिछानेलाई भेटेर ६ बुँदे ज्ञापनपत्र बुझाए


काठमाडौँ— अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीबाट मारिएका धनुषाका दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै उनको परिवारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएका छन्।

६ बुँदे माग सहित बुधबार साँझ गृह मन्त्रालयमा लामिछानेलाई भेटेर दिलिपका परिवारका सदस्यहरुले ज्ञापनपत्र बुझाएका हुन्।

धनुषाको मिथिला नगरपालिका स्थित घर नजिकै रहेको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा २०७६ पौष २५ गते घाइते बनाई दिलिपलाई क्रसर संचालकले खोलामै टिपरले किचेर हत्या गरेका थिए।

उक्त घटनामा धनुषाले जिल्ला अदालतले आरोपित ७ जनामध्ये ३ जनालाई दोषी ठहर गरेको छ। सरकारी वकिलले दिएको पुनरावेदनमा उच्च अदालतले पनि जिल्ला अदालतकै फैसला सदर गरेको छ।

उक्त फैसलाले आंशिक मात्र न्याय प्राप्त भएको भन्दै दिलिपका परिवारले बांकी ४ जनालाई पनि कारबाही दायरामा ल्याउन माग गरेका छन्। उनको परिवारले अनुसन्धानमा त्रुटी भई हालसम्म यस घटनाका मुख्य योजनाकारहरु अझै कारबाहीको दायरामा नपरेको बताउँदै उच्चस्तरीय छानबिन समिति गठन गरी मुख्य योजनाकारहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने र दोषीहरुलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका हुन्।

यसका साथै चुरेक्षेत्र संरक्षणका लागि तत्काल चुरे संरक्षण ऐन बनाउनुपर्ने, दिलिपका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र उनका परिवारका कम्तिमा एकजना सदस्यलाई रोजगारीको व्यवस्था गरिनुपर्ने माग गरिएको दिलिपकी बहिनी लक्ष्मीले बताइन्।

‘गृहमन्त्रीज्युले हाम्रो मागप्रति सकरात्मक रहेको बताउनुभएको छ। उहाँले तपाईंहरु नआएको भए म बोलाउनेवाला थिएँ पनि भन्नुभयो,’ लक्ष्मीले भनिन्।

ज्ञापनपत्र बुझाउन दिलीपका ८८ वर्षीय हजुर बुबा रामपृत महतो कोइरी, बुबा रामजीवन महतो, आमा चन्द्रकला देवी, दिदीबहिनीहरु संगीता, लक्ष्मी, सिर्जना, भाइ ख्वाइस र भान्जा शुभम गृह मन्त्रालय पुगेका थिए।

दिलिपका परिवारले यसअघि २०७९ साल पौष २९ गते गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएपनि उनीहरूको मागप्रति सरकारले बेवास्ता गरेको थियो।