Breaking

नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले थाल्यो आन्तरिक छलफल

योहो संवाददाता

काठमाडौँ— नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार बिहान दुई उपसभापति, दुई महामन्त्री, प्रमुख सचेतक रमेश लेखक र कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् ।

देउवा निवास बुढानीलकण्ठमा भएको छलफल कोशी प्रदेश सरकारको सन्दर्भमा के गर्ने भन्ने विषयमा केन्द्रित रहेको एक नेताले जानकारी दिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् । त्यसैले कोशीमा एमाले(माओवादीसहितको गठबन्धनको सरकार सजिलै बन्नसक्छ ।

कोशी प्रदेशसभामा कांग्रेससँग २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद छन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले विश्वासको मत दिएका थिए । उनीहरुको विश्वासको मत अहिले पनि कायमै छ ।

गणितीय रुपमा कार्की संकटमा परेको जस्तो देखिए पनि कार्कीको विकल्पमा अर्को सरकार बन्ने संवैधानिक र कानुनी आधार देखिएको छैन । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि अहिलेसम्म अर्को सरकारको विकल्प नदेखिएकाले विश्वासको मत फिर्ता लिने र अस्थीरता सिर्जना गर्ने काममा माओवादी केन्द्र नलाग्ने बताउँछन् ।

‘संवैधानिक र कानुनी आधारमा वैकल्पिक सरकार गठन हुने निश्चित हुने भएपछि मात्र हामीले आवश्यक निर्णय लिन्छौं । अहिले नै स्थीरता र अन्यौलता सिर्जना गर्ने भूमिका हामीबाट हुँदैन,’ आङ्बोले भने, ‘अहिलेसम्म मुख्यमन्त्री कार्कीलाई हाम्रो समर्थन कायमै छ ।’