राजनीति

लपेटिएपछि आक्रामक नारायणकाजी, रुस जाने तयारी, लेखकले दिए चुनौती, नेपालीको होला उद्धार ?(भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— रुसी सेनामा भर्ना भएका नेपाली युवाले युद्धस्थलबाट नै सरकारसँग उद्धारको याचना गर्दै आएका छन् । पीडित परिवार तथा आफन्तजनले सरकार गुहारेको महिनौँ बितिसक्यो । तर पीडितको उद्धारमा सरकार असफल भइरहेको छ । नेपाल सरकारले पहल गरे पनि उपलब्धी शून्य छ । अहिले फेरिएको सत्ता समीकरण र परराष्ट्रमन्त्रमा नारायणकाजी श्रेष्ठको आगमन लगत्तै भएको काठमाडौँ–मस्को संवादले पीडितको उद्धारमा आशा जगाएको छ ।

‘हाम्रो साथमा तीन भारतीय दाजुभाइ थिए । भारत सरकारले उनीहरुलाई फिर्ता लगिसक्यो । नेपाली राजदूतावासले हामीलाई सहयोग गरिरहेको छैन । त्यसकारण हामी हाम्रो छिमेकी देश भारतसँग मद्दत माग्न चाहन्छौं । हामीलाई भारतले उद्धार गर्नेमा आशावादी छौँ ।’
पछिल्लो केही दिन यता यो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । नेपाल र भारतमा यो भिडियोको चर्चा भइरहेको छ । चर्चा हुनुको कारण हो रुसी सेनामा भर्ती भएका यी नेपाली युवाहरुले आफुहरुको उद्धार गर्न नेपाल सरकारलाई नभई छिमेकी मुलुक भारतलाई आग्रह गरेका छन् । उनीहरु मात्र होइन युद्धमोर्चामा रहेका धेरै युवाहरु उद्धारको प्रतिक्षामा छन् । कसैगरी उद्धारका लागि हारगुहार गरिरहेका छन् । नेपाल सरकारले आफ्नो नागरिकको उद्धारको प्रयास नगरेको पनि होइन । मस्कोस्थित नेपाली राजदूतावास र काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले पर्याप्त कोसिस गरिरहेकै छ ।

राष्ट्रिय राजनीतिमा फेरिएको सत्ता समीकरणको असरले परराष्ट्रको नेतृत्व पनि फेरिएको छ । गृहमन्त्रीमा निरन्तरता नपाएपछि परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका युवाहरुको उद्धारका लागि सक्रियता बढाएका छन् । दोस्रो पटक परराष्ट्र हाँक्न पुगेका मन्त्री श्रेष्ठले काठमाडौँ मस्कोबीच संवाद सुरु गर्न सफल भएका छन् । परराष्ट्रको जिम्मेवारी सम्हालेको भोलिपल्ट नै मन्त्री श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभसँग टेलिफोन संवाद गरेका थिए । युवाहरुको उद्धारबारे यो दोस्रो औपचारिक उच्चस्तरीय संवाद हो । मन्त्री श्रेष्ठले गैरकानूनी रुपमा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन, युक्रेनसँगको युद्धको क्रममा मारिएकाको शव ल्याउन, घाइतेहरुलाई उद्धार, मृत्यु भएका परिवार र घाइतेहरुलाई क्षतिपूर्ति दिनुपर्ने लगायत विषयमा छलफल भएको जनाएका छन् ।

रुसका विदेशमन्त्री लाभारोभ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासपात्र मात्र नभई पुटिनपछि रुसी राजनीतिमा प्रभावशाली नेता मानिन्छन् । यसअघि परराष्ट्रमन्त्री एनपी साउदलाई मस्कोमा स्वागत गर्न इच्छा नदेखाएका रुस विदेश मन्त्रीले श्रेष्ठलाई स्वागत गर्लान् ? किन भने मन्त्री श्रेष्ठ रुस यात्राको तयारीमा रहेकोसमेत बुझिएको छ । फेरिएको सत्ता समीकरण र दुई मुलुकबीच सुरु भएको उच्चस्तरीय कुटनीतिक संवादले केही आशा जगाएको छ । तर भर पर्ने अवस्था भने छैन । रुसी सेनामा भर्ती भएकाहरुको उद्धार राजनीतिक एजेन्डा नै बनेका कारण मन्त्री श्रेष्ठले सकभर सबै अस्त्र प्रयोग गर्ने बुझिएको छ । तर यो विषयलाई अहिले प्रतिपक्षको कित्तामा पुगेको कांग्रेसले परराष्ट्रमन्त्रीमाथि चुनौती प्रस्तुत गरेको छ ।

सरकारले संकलन गरेको पछिल्लो तथ्यांक र परिवारमार्फत निवेदनका आधारमा रुसी सेनामा भर्ती भएका ८८ जना युवाले परिवारमार्फत उद्धार गर्न आग्रह गरेका छन् । १४ जनाको मृत्यु भइसकेको छ भने ९६ जना सम्पर्कविहीन अवस्थामा छन् । १३ जना घाइते रहेको र ७ जना युक्रेनी सेनाको नियन्त्रणमा रहेको तथ्यांक सार्वजनिक भएको छ । युद्धमा मृत्यु भएका १४ जनाका परिवारले शव फिर्ता र क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका छन् ।

रुसी सेनामा भर्ती भएर फर्किएका युवाहरुका अनुसार दुई हजार बढी नेपाली रुसी सेनामा कार्यरत रहेको दावी गर्दै आएका छन् । यकिन तथ्यांक नेपाल सरकारसँग समेत छैन । अन्य मुलुकहरुले धमाधम आफ्ना नागरिकको उद्धार गर्दा नेपालले भने गर्न सकिरहेको छैन । नेपाल–रुसबीच बिग्रिएको सम्बन्धको असरले नेपालले आफ्ना नागरिकको उद्धारमा खेप्नु परिरहेको छ । यद्यपि, परराष्ट्रमन्त्री श्रेष्ठले देखाएको सक्रियता र संवादको कदमले नेपालीको उद्धारमा प्रभावकारी काम हुनेमा आशा भने पलाएको छ । नेपालले चालेको कदमलाई रुसले कतिको प्राथमिकतामा राख्दै उद्धारका लागि सहयोग गर्छ त्यो भने अझै हेर्न बाँकी छ ।