राजनीति

लपेटिएपछि आक्रामक नारायणकाजी, रुस जाने तयारी, लेखकले दिए चुनौती, नेपालीको होला उद्धार ?(भिडियोसहित)


काठमाडौँ— रुसी सेनामा भर्ना भएका नेपाली युवाले युद्धस्थलबाट नै सरकारसँग उद्धारको याचना गर्दै आएका छन् । पीडित परिवार तथा आफन्तजनले सरकार गुहारेको महिनौँ बितिसक्यो । तर पीडितको उद्धारमा सरकार असफल भइरहेको छ । नेपाल सरकारले पहल गरे पनि उपलब्धी शून्य छ । अहिले फेरिएको सत्ता समीकरण र परराष्ट्रमन्त्रमा नारायणकाजी श्रेष्ठको आगमन लगत्तै भएको काठमाडौँ–मस्को संवादले पीडितको उद्धारमा आशा जगाएको छ ।

‘हाम्रो साथमा तीन भारतीय दाजुभाइ थिए । भारत सरकारले उनीहरुलाई फिर्ता लगिसक्यो । नेपाली राजदूतावासले हामीलाई सहयोग गरिरहेको छैन । त्यसकारण हामी हाम्रो छिमेकी देश भारतसँग मद्दत माग्न चाहन्छौं । हामीलाई भारतले उद्धार गर्नेमा आशावादी छौँ ।’
पछिल्लो केही दिन यता यो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । नेपाल र भारतमा यो भिडियोको चर्चा भइरहेको छ । चर्चा हुनुको कारण हो रुसी सेनामा भर्ती भएका यी नेपाली युवाहरुले आफुहरुको उद्धार गर्न नेपाल सरकारलाई नभई छिमेकी मुलुक भारतलाई आग्रह गरेका छन् । उनीहरु मात्र होइन युद्धमोर्चामा रहेका धेरै युवाहरु उद्धारको प्रतिक्षामा छन् । कसैगरी उद्धारका लागि हारगुहार गरिरहेका छन् । नेपाल सरकारले आफ्नो नागरिकको उद्धारको प्रयास नगरेको पनि होइन । मस्कोस्थित नेपाली राजदूतावास र काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले पर्याप्त कोसिस गरिरहेकै छ ।

राष्ट्रिय राजनीतिमा फेरिएको सत्ता समीकरणको असरले परराष्ट्रको नेतृत्व पनि फेरिएको छ । गृहमन्त्रीमा निरन्तरता नपाएपछि परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका युवाहरुको उद्धारका लागि सक्रियता बढाएका छन् । दोस्रो पटक परराष्ट्र हाँक्न पुगेका मन्त्री श्रेष्ठले काठमाडौँ मस्कोबीच संवाद सुरु गर्न सफल भएका छन् । परराष्ट्रको जिम्मेवारी सम्हालेको भोलिपल्ट नै मन्त्री श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभसँग टेलिफोन संवाद गरेका थिए । युवाहरुको उद्धारबारे यो दोस्रो औपचारिक उच्चस्तरीय संवाद हो । मन्त्री श्रेष्ठले गैरकानूनी रुपमा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन, युक्रेनसँगको युद्धको क्रममा मारिएकाको शव ल्याउन, घाइतेहरुलाई उद्धार, मृत्यु भएका परिवार र घाइतेहरुलाई क्षतिपूर्ति दिनुपर्ने लगायत विषयमा छलफल भएको जनाएका छन् ।

रुसका विदेशमन्त्री लाभारोभ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासपात्र मात्र नभई पुटिनपछि रुसी राजनीतिमा प्रभावशाली नेता मानिन्छन् । यसअघि परराष्ट्रमन्त्री एनपी साउदलाई मस्कोमा स्वागत गर्न इच्छा नदेखाएका रुस विदेश मन्त्रीले श्रेष्ठलाई स्वागत गर्लान् ? किन भने मन्त्री श्रेष्ठ रुस यात्राको तयारीमा रहेकोसमेत बुझिएको छ । फेरिएको सत्ता समीकरण र दुई मुलुकबीच सुरु भएको उच्चस्तरीय कुटनीतिक संवादले केही आशा जगाएको छ । तर भर पर्ने अवस्था भने छैन । रुसी सेनामा भर्ती भएकाहरुको उद्धार राजनीतिक एजेन्डा नै बनेका कारण मन्त्री श्रेष्ठले सकभर सबै अस्त्र प्रयोग गर्ने बुझिएको छ । तर यो विषयलाई अहिले प्रतिपक्षको कित्तामा पुगेको कांग्रेसले परराष्ट्रमन्त्रीमाथि चुनौती प्रस्तुत गरेको छ ।

सरकारले संकलन गरेको पछिल्लो तथ्यांक र परिवारमार्फत निवेदनका आधारमा रुसी सेनामा भर्ती भएका ८८ जना युवाले परिवारमार्फत उद्धार गर्न आग्रह गरेका छन् । १४ जनाको मृत्यु भइसकेको छ भने ९६ जना सम्पर्कविहीन अवस्थामा छन् । १३ जना घाइते रहेको र ७ जना युक्रेनी सेनाको नियन्त्रणमा रहेको तथ्यांक सार्वजनिक भएको छ । युद्धमा मृत्यु भएका १४ जनाका परिवारले शव फिर्ता र क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका छन् ।

रुसी सेनामा भर्ती भएर फर्किएका युवाहरुका अनुसार दुई हजार बढी नेपाली रुसी सेनामा कार्यरत रहेको दावी गर्दै आएका छन् । यकिन तथ्यांक नेपाल सरकारसँग समेत छैन । अन्य मुलुकहरुले धमाधम आफ्ना नागरिकको उद्धार गर्दा नेपालले भने गर्न सकिरहेको छैन । नेपाल–रुसबीच बिग्रिएको सम्बन्धको असरले नेपालले आफ्ना नागरिकको उद्धारमा खेप्नु परिरहेको छ । यद्यपि, परराष्ट्रमन्त्री श्रेष्ठले देखाएको सक्रियता र संवादको कदमले नेपालीको उद्धारमा प्रभावकारी काम हुनेमा आशा भने पलाएको छ । नेपालले चालेको कदमलाई रुसले कतिको प्राथमिकतामा राख्दै उद्धारका लागि सहयोग गर्छ त्यो भने अझै हेर्न बाँकी छ ।