देश

ओली–प्रचण्डकै आश बने रवि, सात दिनमै गृहमा चमत्कार, विरोधीले खोजे सहकारीको फाइल र जीबी (भिडियोसहित)


काठमाडौँ— सरकारको गियर परिवर्तन गर्न सत्ता र गठबन्धन पुनर्गठन गर्नु परेको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब सरकारलाई तीव्र गतिमा अगाडि बढाउने योजनामा छन् । यसअघिको मन्त्रिपरिषद् सदस्यले आफ्नो संकल्पमा सक्रियता नदेखाएकै कारण उल्लेख्य काम गर्न नसकेको बताउने प्रधानमन्त्री प्रचण्डको यस पटकको आशाको केन्द्र भने गृहमन्त्री रवि लामिछाने बनेका छन् ।


चुनौतीको चाङमा रहेर गृहमन्त्रालय सम्हालिरहेका रवि लामिछानेले लगातार दुई दिनमा दुई सफलता हासिल गरे । सोमबार राति मिटरब्याज पीडितसँग चार बुँदे सहमति गरेका गृहमन्त्री लामिछानेले मंगलबार बेलुकी पनि आरती साहको न्यायका लागि लामो समयदेखि काठमाडौंमा धर्ना दिँदै आएका उनका परिवारसँग पाँच बुँदे सहमति गरेका छन् । गिजोलिएको गृहमन्त्रालयको जिम्मा पाएको साता दिन हुँदै गर्दा ४२ दिन हिँडेर संघीय राजधानीमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितलाई जिल्ला फर्काएका छन् । साथै दाइजोको निहुँमा आरती साहको हत्या भएको परिवारको दाबीसहित १० महिनादेखि आन्दोलनमा रहेको परिवारलाई न्याय दिलाउने भरोसासहित आन्दोलन फिर्ता गराएका छन् । समस्याको चाङ रहेको गृहमा मन्त्री लामिछानेको प्रवेशसँगै सकारात्मक संकेत देखिएको भन्दै रास्वपाका सांसदले संसदमै गृहमन्त्रीको तारिफ गरेको छ ।

गृहमन्त्री रविले पछिल्ला केही दिनमा गरेको कामले सरकारलाई आफ्नो उपलब्धीहरूको सूची तयार पार्ने अवसर मिलेको छ । बिहानीको सुरुवातले दिन भरकै निर्धारण गर्छ भने झै गृहमन्त्रीले देखिने गरी गरेको कामले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि हौसिएका छन् । सरकारको गियर परिवर्तन गर्न सरकार र गठबन्धन पुनर्गठन गर्नु परेको बताउने प्रधानमन्त्री अब यही रफ्तारमा अघि बढ्ने योजनामा छन् । अघिल्लो गठबन्धनको सरकारबाट निराश बनेका प्रचण्डलाई रविले चालेका पछिल्ला केही कदमले भने आशा जागाएको प्रधानमन्त्री स्वयम्ले स्वीकारेका छन् ।

प्रधानमन्त्री नै यो नयाँ समीकरण टिक्नेमा विश्वस्त नभइरहेको बेलामा गृहमन्त्री रविलाई समयको दबावमा काम गर्नु पर्ने देखिन्छ । त्यसबाहेक पनि उपराष्ट्रपति भइसकेका पुन परिवारको सुन साइनो खोज्नेदेखि सहकारीको अर्बांै रकम ठगी गरेर फरार रहेका गितेन्द्र बहादुर (जीबी) राई हुँदै सत्ता र दम्भकै भरमा अपराधबाट उन्मुक्ति पाएकाहरूलाई कानुनी कठघरामा ल्याउने चुनौती उनीमाथि छ । छोटो समयमा नै सत्तामा पुगेर राम्रो काम गर्ने संकेत दिँदै गर्दा गृहमन्त्री रविको सत्ता यात्रामा चित्त नबुझेर राजनीतिक दुस्मनी साध्नेहरूले लपेट्ने पनि निश्चित छ ।

आफ्नो प्रधानमन्त्रीय कार्यकाल लम्ब्याउनकै लागि नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग पुनर्मिलन गरेका प्रधानमन्त्री दाहालको आश नै गृहमन्त्री लामिछाने बनेका छन् । अरू मन्त्रीहरू सम्मान, भेटघाट र बधाई लिँदैमा व्यस्त भइरहेको परिपे्रक्षमा रविले भने मध्यरातमा पनि पीडितलाई सरकार भएको महसुस गराउन सफल भएका छन् । भुईं मान्छेसँग प्रत्यक्ष जोडिएको मुद्दालाई सम्बोधन गर्ने विश्वास दिलाएका रवि यही गतिमा दौडिने देखिन्छन् । तर, उनको रेस सोचे जस्तो सहज भने छैन । पीडितहरूको आन्दोलनलाई मत्थर पारे पनि गृहमन्त्री रविले न्यायिक पाटो र राजनीतिक खिचानतानीको सिकार बत्रे चुनौतीको सामना गर्नु पर्ने छ ।