राजनीति

प्रचण्ड र देउवाको सत्ता ‘डिभोर्स’, रेशम र रन्जिताको घर भाँडिदै,नाटक कि वास्तविकता ? (भडियोसहित)


काठमाडौँ— नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको राजनीतिक विवाद फेसबुकमा छताछुल्ल पारेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच विवाद छ । रेशमले सामाजिक सञ्जालमा पत्नीसँगको विवाद छताछुल्ल पारे पनि रन्जिताले भने फरक विचारले परिवार नफुट्ने प्रतिक्रिया दिएकी छन् ।

श्रीमती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै जान चाहन्छिन् । श्रीमान काँग्रेस सभापति शेरबहादुर देउवासँगै सहयात्रा गर्न चाहन्छन् । तर शेरबहादुर देउवा र प्रचण्डबीच भर्खरै सम्बन्ध विच्छेद भएको छ । प्रचण्ड–देउवा दुई किनारका साक्षी बनेपछि यता रेशम चौधरीको दाम्पतीमा दरार ल्याएको छ । सत्ता समीकरण फेरबदलको असरले झण्डाझण्डै विवाहित जोडीपनि सम्बन्ध विच्छेदकै अवस्थामा पुग्ने खतरा बढेको छ । फलतः बुधबार एकाबिहानै सामाजिक सञ्जालमा श्रीमती रञ्जिता श्रेष्ठलाई सम्बोधन गर्दै रेशम चौधरीलेख्छन्,

‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन ।आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ । तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन् । मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउनेवाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ ।’
अझैमाथि उनी लेख्छन्, ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भैइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न ।

अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए,हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकी हौ । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामिले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो ।’

रेशम चौधरीका यी प्रेमिल भावनाका छालहरुलाई हेर्दा उनले फकाउन निकै कोशिस गरेको देखिन्छ । कबड्डीका काजीले मैयाँलाई सम्बोधन गर्दै बीकेलाई लेख्न लगाएजस्तो, ‘यो हावाको कसम, यो बादलको कसम । यो जंगल, खोला, नदीको कसम । कस्सम म तिमिबिना बाँच्न सक्दिँन प्रिय ।’ उनले यत्तिमात्रै लेख्न छुटाएका छन् ।

रेशम चौधरी श्रीमती सहमतिमा नआएपछि अहिले साँच्चिकै संकटमा छन् । किनकि यो विषय घरझगडाभन्दा माथि राजनीतिक लफडाको हो । तर राजनीतिक विषयमा अध्यक्षलाई प्रिय भन्दै सम्बोधन गरेपछि बुढाबुढीको चर्तिकला सामाजिक सञ्जालमा नदेखाउ भन्दै आलोचनासमेत भइरहेको छ । खासगरिनागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धनमै सामेल हुन चाहन्थिन् । त्यसो हुँदा केही बर्ष सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिने सहमति पनि बनेको छ । यसअघि पनि उनी प्रचण्ड नेतृत्वकै सरकारको भूमि व्यवस्था मन्त्री थिइन् । तर प्रचण्डले काँग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले कित्ता रोजेपछि नागरिक उन्मुक्तिसमेत कलहमा फसेको छ । हुनत् रेशम चौधरीले पार्टी महाधिवेशन गराएर आफैलाई अध्यक्षमा निर्वाचित गराएका थिए । आफ्नो पद नै खोसिएपछि रञ्जिता असन्तुष्ट थिइन् ।

तर टिकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल परेका रेशमलाई निर्वाचन आयोगले अयोग्य घोषणा गर्दै महाधिवेशनलाई मान्यता नदिएपछि रञ्जिता नै अध्यक्षमा कायम भएकी छिन् । किनकि उनी फौजदारी अभियोगमा प्रमाणित भएका दोषी हुन् र राष्ट्रपतिले दिएको आममाफीविरुद्ध पनि सर्वाेच्चमा मुद्दा विचाराधीन छ । यस्ता व्यक्ति कुनै पनि दलको सदस्य बन्नसक्ने कानुनी व्यवस्था छैन । फलतः श्रीमतीसमेत रहेकी अध्यक्षलाई फकाएर आगामी बाटो तय गर्नुपर्ने बाध्यतामा परेका रेशमले घरझगडा नै छरपस्ट हुनेगरि सामाजिक सञ्जालमा दुख बिसाएका हुन् ।