देश

झिलमिलामा गुञ्जिए तिलक पेला


महेन्द्रनगर— शास्त्रीय गायक तथा संगीतकार तिलकसिंह पेलाले कञ्चनपुरको प्रसिद्ध झिलमिला ताल परिसरमा सत्संग गरेका छन् । बुधबार दिउँसो ताल परिसरमा साथीहरूसहित पुगेका पेलाले झन्डै २ घण्टा सांगीतिक सत्संग गरेका हुन् । पेलाले मानसखण्ड क्षेत्रका प्रसिद्ध साहित्यकार एवं डाेटेली व्याकरणका लेखक देवराज भट्ट शर्माद्वारा रचित डाेटेली भाषाका आधा दर्जन गीतहरु गाएका थिए ।

उनले त्यहाँ ‘बाँज, बुँरुजका घुइला पातल’, मेरि जनमभूमि विशाल तेरि जय हाे’, ‘जन बासै घुघुती’ र कवि हेमन्त विवशद्वाराचित ‘देउसरा आइ गै’ लगायतका गीत गाएका थिए । साहित्यकार हेमबाबु लेखक, रमेश पन्त मितबन्धु, कलाकार कृष्ण पाण्डेय, रविन भट्ट , अशोक लेखक लगायतका साथीहरूसहित झिलमिला पुगेका पेलाले आफै हार्मोनियम बजाएर ताल छेउमै मातृभाषाका गीतहरु शास्त्रीय रागमा गाएका थिए ।

बिहिबार कञ्चनपुर पर्यटन महाेत्सवमा आफ्नो सांगीतिक प्रस्तुतिका लागि महेन्द्रनगर आइपुगेका पेलाकाे यो सत्संग झिलमिलाकाे पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहने कुरा साहित्यकार हेमबाबु लेखकले बताए । लेखकका अनुसार तिलकसिंह पेला जस्ता शास्त्रीय संगीतका विशिष्ट साधकले प्राकृतिक विविधता र धार्मिक महत्व बाेकेकाे झिलमिला ताल जस्तो क्षेत्रमा यस्ता सत्संग गर्दा यसको प्रवर्द्धन र धार्मिक पर्यटनको गन्तव्यका रुपमा प्रचारप्रसार गर्न विशेष टेवा पुग्नेछ ।

तिलक जी जस्ता बहुआयामिक स्रष्टाको यो सत्संग झिलमिला तालको प्राकृतिक सौन्दर्य र धार्मिक महिमालाई धेरै भन्दा धेरै मानिसहरूसम्म पुर्‍याउन सफल हुनेमा म विश्वस्त छु, साहित्यका रमेश पन्त मितबन्धुले भने, -गीतसंगीतकाे क्षेत्रमा प्रसिद्धि प्राप्त शास्त्रीय साधक पेलाकाे यो सत्संगले झिलमिला तालको प्रचारप्रसारमा ठूलो योगदान पुग्नेछ ।

पेलाका “लुकाउन खाेज्दा पनि”, “कहानी बनेन केही”, “ताराहरुकाे माझमा”, “संसार अटाउने मुटुमा” लगायतका कर्णप्रिय गीतहरु रेकर्डिङ छन् । झन्डै २५ वर्षको शास्त्रीय साधनापछि केही समय पहिला रेकर्डिङ भएको “के लत बस्याे मलाई” प्रदीप मैनालीकाे गजलले पेलालाई सामाजिक सञ्जाल, इन्टरनेट र नेपाली शास्त्रीय संगीतका क्षेत्रमा भाइरल बनाएको थियोे । नेपाली संगीतका पारखीहरुलाई शास्त्रीय संगीतप्रति रुझान बढाउन पेलाकाे उक्त गजल गायन प्रेरक रहेको छ ।