Breaking

पैसाको अभावमा राजधानीमै भौतारिदै मिटरब्याज पीडित ,घर फर्किनसमेत समस्या


काठमाडौँ— २३ दिन हिँडेर आई काठमाडौँमा आन्दोलनरत मिटरब्याज पीडितमध्ये कम्तीमा दुई सय जनालाई घर फर्किनसमेत समस्या भएको छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, प्रदर्शनरत ७ सय जना पीडितमध्ये आधाभन्दा बढी आज सम्ममा फर्किसकेका छन् ।

तर, कम्तीमा दुई सय जनालाई घर फर्किन भाडा तिर्ने पैसा समेत नभएपछि भृकुटीमण्डपमै रहेको संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए ।

सरकारले सोमबार राति सिंहदरबारमा मिटरब्याज पीडितसँग चार बुँदे सहमति गरेको थियो । सहमति अनुसार, नयाँ जाँचबुझ आयोग बन्नेछ, त्यसले अवैध रुपमा तयार गरिएका तमसुकहरु खारेज गर्न सिफारिस समेत गर्ने उल्लेख गरिएको छ ।

केही दिनअघि जिल्ला र नगरस्तरबाट आएका अगुवाहरु घर फर्किएका थिए । उनीहरुले धान बेचेर ल्याएको पैसाले कतिपय गाउँ फर्किएको अभियन्ताहरु बताउँछन् ।

पूर्वी तराई घर भएकाहरु अधिकांश फर्किइसकेका छन् । तर, पश्चिमतिर भाडा पनि बढी पर्ने भएकाले फर्किन समस्या भएको नवीनले बताए । उनका अनुसार, अभियन्ताहरुले अहिले बाँकी रहेकाहरुको विवरण संकलन गरिरहेका छन् ।

आफूहरुको समस्या समाधान नभएको भन्दै १६ माघमा पूर्वमा काँकडभिट्टाबाट अवधेश कुशवाह र पश्चिममा निर्ग नवीनको नेतृत्वमा मिटरब्याज पीडितहरु पैदल हिँडेर काठमाडौं आएका थिए ।