Breaking

राप्रपा निर्णय : सरकारमा नजाने, विश्वासको मतको विपक्षमा मतदान गर्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा नजाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बैठकले तत्काल प्रदेश सरकारमा पनि सहभागी नहुने तर आवश्यकताअनुसार पछि जान सकिनेगरी आवश्यक कार्यादेश अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

यस्तै पार्टीले सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौँमा तय भएको जनप्रदर्शनको मिति सारिएको छ । एसईइ परीक्षाको समय र लाखौं विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौँ केन्द्रित जनप्रदर्शनको चैत २७ गतेलाई सार्ने निर्णय भएको हो । यस्तै राप्रपाले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचन र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने पनि निर्णय गरेको छ ।

दुई वटै स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने बैठकले निर्णय गरेको अध्यक्ष लिङ्देनले बताउनुभयो ।