Breaking

ओली-प्रचण्ड गालीको वर्षा, कहिले चाटाचाट कहिले काटाकाट, विगत बिर्सिएर टिक्ला एकता ?

दोस्तीदेखि दुस्मनीसम्मै


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक नजिकिएका छन् ।

ओली र प्रचण्डबीच जसरी आश्चर्यजनक रुपमा मिलन हुन्छ, विछोड पनि त्यसरी नै भएको इतिहास छ । उनीहरूको राजनीतिक स्वार्थसिद्धिका लागि जे पनि गर्न पछि पर्दैनन् । केही समयअघिसम्म प्रचण्ड–ओलीको आरोप्रत्यारोप सुन्दा अहिलेको मिलन पत्याउन गाह्रो पर्छ । ‘स्वार्थ मिले चाटाचाट, नमिटे काटाकाट’ को उक्ति प्रचण्ड र ओलीको मामिलामा ठ्याक्कै मिल्छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा माओवादी उदाएपछि ओलीले व्यंग्य गर्दै माओवादीले धाँधली गरेर जितेको दाबी गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई क्षेत्रबाट निर्वाचित हुँदा ओली झापाबाट पराजित भएका थिए । माओवादीविरुद्ध टकराव लिएरै ओली संसदीय दलको नेता र एमाले अध्यक्ष बने । माओवादीको कडा आलोचकमा ओली पहिलो नम्बरमा गनिन्थे । प्रचण्ड पनि के कम ओलीलाई संघीयता विरोधीको रुपमा सक्दो चित्रण गर्न प्रयास गर्थे ।

संविधान निर्माणका बेलाको आरोप श्रृंखला बढ्दैगयो । प्रचण्डमाथि ओली भारी बन्दै गए । ओलीकै जोडबलमा माओवादीलाई एक्ल्याएर कांग्रेससहित २२ दलीय गठबन्धनबाट माधवकुमार नेपाल प्रधानमन्त्री बने । ओली र प्रचण्डबीच छेडछाड निरन्तर चल्दै आयो ।

ओलीले प्रचण्डलाई माकः फुँइसम्म भन्न भ्याए । प्रचण्ड पनि के कम ओलीको मानसिक असन्तुलनको उपचार माग नै गरे । दोस्रो संविधान सभामा परिस्थिति बदलियो कांग्रेस सबैभन्दा ठूलो दल बन्यो भने एमाले दोस्रो र माओवादी तेस्रोमा खुम्चियो । कांग्रेस र एमाले मिलेर सरकार बनाए । आलोपालो प्रधानमन्त्री बन्ने शर्तमा ओली र प्रचण्ड आश्चर्यजनक रुपमा नजिकिए । तर, उनीहरूको मिलन लामो समय टिक्न सकेन ।

लगत्तै ओलीलाई छाडेर प्रचण्ड कांग्रेससँग मिल्न पुगे । ओली र प्रचण्डबीचको आरोपप्रत्यारोप झनै बढ्यो । त्यही बीचमा ओली प्रचण्ड फेरि मिले । चुनावी गठबन्धन मात्रै होइन, एमाले र माओवादी पार्टी नै एक बनाएर नेकपा निर्माण गरे । त्यो पनि लामो समय टिकेन । ओलीले ०७७ साल पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्डले ओलीविरूद्ध प्रहार गरेको वचन–वाण र ओलीले त्यसविरूद्ध गरेको ‘काउन्टर अट्याक’ सुन्दा लाग्थ्यो– सायद् जीवनपर्यन्त अब ओली र प्रचण्ड मिल्दैनन् ।

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने भनाइ यी दुई नेता मेल खान्छ । एकले अर्कालाई भएभरको गाली गरेका ओली र प्रचण्ड गत निर्वाचनपछि फेरि मिले । त्यो मिलन पनि लामो समय टिकेन । फेरि एकले अर्कालाई सत्तो सराप गर्न थाले ।
झन्डै एक वर्षपछि बिग्रिएको सम्बन्धले अहिले १८० डिग्री फन्को मारेको छ । कुनै वेला एक–अर्काका कट्टर आलोचक उनीहरू अहिले एकअर्काका परिपूरक बनेका छन् ।

ओली प्रचण्डको दोस्ती र दुश्मनी देख्दा सत्तामा पुग्नका लागि गरिएको नाटक मञ्चनको भान हुन्छ । ‘स्वार्थ मिले चाटाचाट, नमिटे काटाकाट’ को उक्ति प्रचण्ड र ओलीको मामिलामा ठ्याक्कै मिल्छ ।
राजनीतिक विश्लेषकहरू ओली र प्रचण्डको सहकार्य लामो जानै नसक्ने दाबी गर्छन । ओली र प्रचण्डको यो प्रेमलीला पनि कति दिन टिक्ने हो यकिन छैन ।

राजनीतिमा जे पनि हुन्छ भन्ने उक्तिलाई प्रचण्ड र ओलीले पुष्टि गर्दै आएका छन् । यसअघि प्रचण्ड र ओली मिल्दा कार्यकर्ता र शुभचिन्तकमा जति उत्साह देखिन्थ्यो, यसपटक त्यो उत्साह देखिदैन । त्यसैले पनि सहजै अनुमान लगाउन सकिन्छ, प्रचण्ड–ओलीको यो गठजोर लामो समय जाँदैन ।