Breaking

पशुपतिबाट फर्किए नागा बाबा, २ देखि ९ हजारसम्म दक्षिणा, साधु भन्छन्–‘सुरक्षा पाएनौँ’


काठमाडौँ शिवरात्रीमा आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले बिदाई गरेको छ । विभिन्न तहमा छुट्याइएका साधुहरूलाई वर्गीकरण अनुसारको दक्षिणा दिएर सम्मानसाथ बिदाई गरिएको हो ।
आदिगुरु शंकराचार्यले भने जस्तै निराकार रूपी भगवान् शिवको दर्शनको अभिलाषा लिएर पाशुपत क्षेत्रमा आएका साधुसन्तको बिदाई गरिएको छ । आइतबार पशुपति क्षेत्र विकास कोष र पशुपति गुठी संस्थाले शितिकण्ठको उपासना गर्ने रात महाशिवरात्रीमा देश विदेशबाट आएका साधुसन्त, महन्तलाई सम्मानसहित बिदाई गरेको हो । राष्ट्रदेव पशुपतिनाथमा आएका साधुहरूलाई उनीहरूको वर्गीकरण अनुसारको रकम र रुद्राक्षको माला प्रदान गरी बिदाई गरियो ।

शिवरात्रीका लागि विभित्र नौ वटा मठबाट आ–आफ्नो समुदायको नेतृत्व गरेर साधुसन्तहरू आउने गर्छन् । त्यही समुदायका नेतृत्वकर्ता र गुठी संस्थानबाट संयुक्त रुपमा साधुहरूको वर्गीकरण हुने गर्छ । यसरी वर्गीकृत भएका साधुसन्तलाई गुठी संस्थानले निश्चित रकम प्रदान गर्छ र विकास कोषले पनि ती वर्गीकृत भएका साधुसन्तहरूलाई संस्थानले दिने रकमको आधा दिने गरेको छ । सुन्तला, गुलाबी, रातो, पहेंलो, नीलो, बैजनी, फिका हरियो, गाढा हरियो र सेतो गरि रङ्गको आधारमा साधुहरूको वर्गीकरण गरिन्छ । जसमा सुन्तला रङ्गमा पर्ने साधुहरूले अधिकतम नौ हजार प्राप्त गर्छन् भने न्यूनतम दुई सय रुपैँया दक्षिणा पाउने सन्त सेतो रङ्गमा वर्गीकृत छन् । यसबाहेकका जति पनि जोगीहरू पशुपतिमा आउँछन् उनीहरूलाई हात खाली नगरी विकास कोषले केही रकम उपलब्ध गराउने गरेको छ ।

न आशक्तिको लोभ न त वियोगको भय नै, न त कुनै मुक्तिको चिन्ता । सबै इन्द्रीयलाई वशमा राख्ने देवादिदेव महादेवको आराधनाका लागि आएका बाबा, महाराजहरू त्रिलोचनको सात्रिध्यमा आउन पाउँदा निकै खुशी देखिन्थे । आराध्यदेव पशुपतिनाथको चरण कमलमा आफूलाई पाउँदा आनन्द हुने र हरेक वर्ष आउने मनोरथ हुने उनीहरु बताउँछन् । महाशिवरात्री पर्वमा भक्तहरूलाई पनि पशुपतिनाथको दर्शन गर्न आउन सन्देश दिन्छन् । त्यस्तै आफूहरूले दानबाट पाएको दक्षिणालाई सत्कर्ममा लगाउने गरेको बाबाहरूले बताए ।

शिवरात्रीमा जस्ता पनि साधुहरू पाशुपत क्षेत्रमा आउँने हुँदा पछिल्लो सयम साधुसन्तबीच नकारात्मक टिकाटिप्पणी हुने गरेको छ । अमर्यादित कार्य गर्ने त्यस्ता साधुहरुले गर्दा सच्चा भक्तिले आराध्यदेव पशुपतिनाथको आराधना गर्न आएका साधुहरूमाथि पनि गलत नजरले हेर्ने दृष्टिकोण बढेको छ । तर, पशुपतिमा आएका सबै जोगीहरू साधुसन्त नहुने र उनीहरू वृषध्वजको नाममा आफ्नो पेट भर्ने काम मात्रै भइरहेको आरोप लाग्ने गर्छ । जोगीको भेषमा आउने यस्ता बाबाहरूले गर्दा पर्व, संस्कृतिहरू विकृत बन्दै गएको केहीको टिप्पणी छ ।

पशुपतिनाथको बारेमा केही गुनासो नभए पनि साधुसन्तको सुरक्षामा भने ध्यान नदिएको केही सन्तको दुखेसो छ । कोषले पशुपतिनाथ मन्दिरमा गर्नु पर्ने सम्पूर्ण व्यवस्था गरे पनि अझै साधुसन्तको व्यवस्थापनमा भएको कमीकमजोरीलाई सुधार गरेर लानु पर्ने उनीहरूको सुझाव छ । सन्तहरूलाई पैसाभन्दा पनि बढी सम्मान दिन उनीहरुले सुझाव दिएका छन् ।

परापूर्वककाल देखि नै महाशिवरात्रीको अवसरमा छिमेकी मुलुक भारतसहित अन्य देशबाट आउने साधुसन्तलाई सम्मान स्वरुप बिदाई गर्ने परम्परा चलिआएको छ । शिवरात्रीको रौनककै रुपमा पनि हेरिने साधु बाबाहरु महाशिवरात्रीको पूर्व सन्ध्यामा पशुपतिनाथमा आई अखडा बनाएर बस्ने गर्दछन् । जसमा सामान्य साधुदेखि दण्डी सन्यासी, दशनामी र नागा बाबाहरू हुने गर्छन् । यसपटक पनि यस्ता साधुहरू तीन हजारभन्दा बढी आएको विकास कोषले जनाएको छ । यसैगरी महाशिवरात्रीका अवसरमा पशुपतिनाथमा सङ्कलन भएको भेटीलाई मुचुल्का उठाएर बोरामा राखिएको कोषले जनाएको छ । उक्त भेटी गणना कार्य सक्न अझै एक–दुई दिन लाग्ने जानकारी दिइएको छ ।