अन्तर्राष्ट्रिय

चीनको बलमा युद्ध जित्ने पुटिनको दाउ ? जेलेन्स्कीलाई अमेरिकाले साथ छोडेकै हो ?


काठमाडौँ – रुस–युक्रेन युद्ध दोस्रो वर्ष पूरा भइ तेस्रो वर्षमा लागेको छ । अहिलेसम्म दुबै तर्फले धनजनको ठूलो क्षति भोगेको छ । तर पछिल्लो समय भने शान्तिका लागि युक्रेनले चीनको खोजी गरिरहेको छ । रुसको सबैभन्दा शक्तिशाली सहयोगी चीनलाई युक्रेनले शान्तिका लागि पहल गर्न आग्रह गरेको हो । चीनको अग्रसरतामा के अब युद्ध रोकिएला त ?
सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरे पश्चात सुरु भएको रुस–युक्रेन युद्ध दुई वर्ष नाघेको छ । यी दुई देशको कहाली लाग्दो युद्ध अहिलेसम्म अन्त्य हुन सकेको छैन । यो युद्धमा रुसले आफ्नो जितलाई जति सहज देखेको थियो यथार्थमा यो अत्यन्त कठिन एवं भयावह हुँदै गएको छ । पछिल्लो पटक रुस–युक्रेन युद्धलाई इजरायल हमास युद्धले छायाँमा पारे पनि युद्ध चलिनै रहेको छ । हारबाट पछि हट्न नजानेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले अहिले भने शान्तिका लागि चीनको साथ खोजेका छन् ।
युक्रेनी र चिनियाँ अधिकारीबीच यसै साता स्विट्जरल्याण्डको डाभोसमा कुराकानी भएको छ । त्यस वार्तामा युक्रेनका तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र उनका विदेशमन्त्री दिमित्रो कुल्लेबा सहभागी थिए भने चीनबाट विदेशमन्त्रालयका प्रतिनिधि सहभागी थिए ।


वार्तापछि सञ्चारकर्मीसँग जेलेनेस्कीले दिएको प्रतिक्रिया उध्दृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले युक्रेनले शान्ति चाहेको उल्लेख गरेका छन् । युक्रेनको शान्ति योजनामा चीन पनि संलग्न हुन चाहेको देखिन्छ । यस्तै विदेशमन्त्री दिमित्रोले चीनसँग अझै घनीभूत छलफल हुने बताएका छन् । ‘हामीले अझै उच्च तहमा छलफल गर्न चाहेका छौं । सम्पर्क स्थापति गरेर शान्ति प्रस्तावबारे चिनियाँ पक्षसँग सबै तहमा संवाद हुनेछ ।’ उनले भनेका छन् । यसअघि युक्रेनी भूभागमा रहेका रुसी सेना फिर्ता बिनै युद्धविरामको प्रस्ताव आएपछि युक्रेनले त्यसलाई स्वीकार गरेको थिएन । दुई देशको युद्धले क्षति भोग्न नपरोस् भनेर चीनले पहिले शान्तिका लागि मध्यस्थता गर्न चाहेको थियो । तर अहिले चीनलाई त्यतापट्टि कम चासो छ । विगत दुई वर्षमा युक्रेनले ठूलो मात्रामा सैन्य, आर्थिक तथा मानवीय सहयोग प्राप्त गरेको छ । २०२४ सम्म युक्रेनले युरोपेली सङ्घका निकायहरूबाट ९२ अर्ब अमेरिकी डलर र अमेरिकी सरकारबाट ७३ अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गरिसकेको छ ।
पश्चिमले दिएका ट्याङ्क, हवाई सुरक्षा उपकरण तथा लामो दूरीसम्म प्रहार गर्न सक्ने तोपहरूले युद्धमा युक्रेनलाई धेरै सघाएका छन् । तर व्यावहारिक रूपमा कहिलेसम्म सहयोग गर्न सकिन्छ भन्ने विवादका बीच युक्रेनलाई मित्रराष्ट्रहरूबाट प्राप्त हुने सहयोग घट्न थालेको छ । यो अवस्थामा युक्रेनले युद्धविराम नगरे ठूलो मूल्य चुकाउनु पर्ने देखिन्छ । सुरक्षाका मामिला अध्ययन गर्ने अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क ‘ग्लोबसेक’ले युद्ध कसरी अगाडि बढ्न सक्ला भनेर दर्जनौँ विज्ञको धारणा सङ्कलन गरेको थियो ।

यसबाट युद्ध सन् २०२५ भन्दा पछिसम्म जारी रहने, दुवै पक्षले ठूलो मानवीय क्षति बेहोर्ने र युक्रेनलाई बाहिरबाट दिइएका हातहतियारमा निर्भरता कायम रहने सम्भावना सबैभन्दा बढी रहेको देखिएको थियो । दोस्रोमा रुसले तनाव बढाउने र मध्यपूर्व, चीन–ताइवान र बाल्कन आदि क्षेत्रमा पनि युद्ध सुरु हुने सम्भावना देखिएको थियो । विश्लेषकहरूले यो युद्ध लामो समय जारी रहने मानेका छन् । यस्तो अवस्थामा चीनले युक्रेनलाई सहयोग गर्ला त ? रुस युक्रेन शान्तिका लागि चीनले पहल थाले के त्यो सम्भव होला ? प्रश्न खडा भइरहेको छ । प्रश्नैप्रश्नले घेरिएको युद्ध तत्काल अन्त्य हुने संकेत अझै देखिएको छैन ।