Breaking

चिनियाको चाहानामा एक ठाउँमा कम्युनिष्ट, रवि पनि चीनतिरै, भारतको टाउको दुखाइ, देउवाको दौडधुप (भिडियोसहित)


काठमाडौँ— नेपालको हरेक राजनीतिक परिवर्तनमा विदेशी शक्तिको प्रभाव नकार्न सकिन्न । अझ एकाएक हुने सत्ता उलटफेरमा भारत वा चीनको चर्चा स्वाभाविक छ । एमाले–माओवादी मिलेर बनेको अहिलेको गठबन्धनलाई लिएर पनि विभिन्न टिकाटिप्पणी भइरहेको छ । अहिलेको नयाँ सत्ता समीकरण बन्नुमा उत्तरी छिमेकी चीनको भूमिकालाई लिएर पनि विश्लेषण भइरहेको छ । कम्युनिस्ट कित्ताको वर्चश्व रहेको अहिलेको सरकार निर्माण के साँच्चै चीनले नै बनाइदिएको हो या हल्ला मात्र ?

नेपालमा सत्ता परिवर्तन हुँदा सधैँ दिल्ली वा बेइजिङको चर्चा चुलिन्छ । कांग्रेससहितको गठबन्धन बन्दा भारत र कम्युनिस्ट गठबन्धन हुँदा चीनसँग जोडेर विश्लेषण हुने क्रम नयाँ होइन । यसअघि कांग्रेस–माओवादीको गठबन्धन हुँदा भारतसँग जोडेर विश्लेषण गर्नेहरु अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गठबन्धन तोड्दै एमालेसँग नयाँ गठबन्धन बनाएपछि चिनियाँ प्रभावको रुपमा चर्चा भइरहेको छ । अझ दणिक्षको छिमेकी भारतीय सञ्चार माध्यमले यो विषयलाई थप मलजल गरिरहेका छन् । यतिबेला भारत चुनावमा होमिएको अवस्थामा त्यसलाई नै प्रभाव पार्ने गरी नेपालमा बदलिएको सत्ता समीकरणको चर्चा गर्दै चीनले बनाइदिएको भारतीय सञ्चारमाध्यमहरुले प्रचार गरिरहेका छन् । यता नेपालमा भने सत्तारुढ दलका नेताहरु नयाँ समीकरण कसले बनाइदिएको भन्ने प्रश्नको जवाफ दिँदादिँदा हैरान भइसकेका छन् ।

नेताहरु स्वीकार गर्न तयार छैनन् तर वैकल्पिक शक्ति रास्वपाको समेत सहभागीतामा बनेको ओली–प्रचण्डको नयाँ सत्ता समीकरण चीनकै इसारामा भएको कुराको केही पुष्टि गर्ने घटनालाई भने नकार्न मिल्दैन । पछिल्ला केही कुटनीतिक घटनाक्रम, छिमेकी मुलुकहरूको चासो र सक्रियतादेखि चीन निकट कम्युनिस्ट नेताहरुको सहज सत्तारोहणले यसलाई शंका गर्ने ठाउँ दिएको छ । कुनै बेला दक्षिण एसियाकै ठूलो कम्युनिस्ट शक्ति नेकपा निर्माण गर्ने ओली–प्रचण्डदेखि माधवकुमार नेपाल अहिलेको यो गठबन्धनमा अटाएका छन् ।

सत्ता समीकरण फेरे लगत्तै प्रचण्डले भारतको घोडा नभएको भन्दै कटाक्ष गरेका छन् । अझ अर्को महत्वपूर्ण कुरा वर्षमान पुन, उपेन्द्र यादव, नारायणकाजी श्रेष्ठदेखि चीन निकट नेताहरुको सत्तामा वर्चश्व छ । पछिल्लो समय चीनसँग उठबस बढाएका रवि लामिछानेहरुले चाहेकै मन्त्रालय पाएका छन् । समीकरण फेरिएर नयाँ मन्त्रीले शपथ खाए लगत्तै भारत र चीनका राजदूतहरु मन्त्री भेट्न सिंहदरबारको ढोका ढोका पुगिरहेका छन् । सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला भएको भन्दै भारतीय राजदूत नवीन श्रीवास्तवले दिएको अभिव्यक्तिलाई पनि शंकास्पद रुपमा हेरिएको छ । तथापि विश्लेषकहरु भने यो गठबन्धन चीन फ्याक्टरका कारण नबनेको तर्क गर्छन्।

व्याख्यातमक घोषणापत्रसहित एमसीसी पास गराए पनि अहिले चीनको महत्वकांक्षी परियोजना बीआरआई अघि बढाउने मामिलामा कांग्रेस बाधक बन्दा हायलकायल प्रचण्डले चीनकै कारण समीकरण फेरेका हुन् ? वा नेताहरुले भने झै आन्तरिक आश्यकताको उपज हो ? यी प्रश्नको स्पष्ट जवाफ अहिले खोज्नु हतार हुनेछ । तर, यथार्थ के हो भने नेपालमा नयाँ सरकार निर्माणमा सधैँ भारत र चीनको हस्तक्षेप हुने भएकाले अहिलेको समीकरण बन्नुमा दक्षिण र उत्तरका साथै कुन शक्तिले रसायनको भूमिका खेल्यो भन्ने कुरा निकट भविष्यले नै प्रष्ट पार्नेछ ।