Breaking

प्रचण्डलाई धोका दिन ओली फकाउँदै देउवा, होटलमा वार्ता, आरजु र विष्णु सक्रिय, फेरि प्रधानमन्त्री को ? (भिडियोसहित)


काठमाडौँ— सदनको अंकगणितका दुई ठूला दल कांग्रेस र एमाले पटकपटक मिल्ने खोजेपनि सदनको तेस्रो दल माओवादीले सत्ता आफ्नो बसमा पारिरहेको छ । कहिले कांग्रेसलाई एमालेले नगन्ने त कहिले एमालेले । आफू सत्ता यात्रा गर्न खोज्दा एकअर्काको बाधक बन्नुका बाबजुद अहिले कांग्रेस फेरि एमाले फकाउने रणनीति बुन्दैछ ।
एकाएक प्रचण्डले समीकरण फेरेपछि कांग्रेस प्रतिपक्षमा मात्रै पुगेको छैन कि गुटले गिजोलिएको कांग्रेस एकै स्वरमा प्रचण्डमाथि खनिने संकेत देखाइसकेको छ । सदनको रोष्ट्रमबाटै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ‘प्रचण्डले धोका दिएकाहरु एक ठाउँमा उभिए के हुन्छ?’ भनेर कांग्रेस र एमाले मिलनको संकेत गर्दै धावा बोले । त्यसोत नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पटकपटक प्रचण्डसँगको गठबन्धन तोडेरगरेको सत्ता यात्राको प्रस्ताव लत्याएको स्वयम् देउवाले नै बताइसकेका छन् ।

निर्वाचनपछि पुस १० मा नै कांग्रेस एमालेको सत्ता समीकरणको कोशिस भएपनि त्यो त्यसै तुहिएको थियो । त्यसपछि पनि पटकपटक ओलीले गरेको प्रयासमा कांग्रेस गठबन्धन तोड्न तयार नभएपछि माओवादी र एमाले अहिले एक ढिक्का भएका छन् । तर कांग्रेस भने उच्च मनोबलका साथ ओली प्रचण्डको मिलन धेरै नटिक्ने निष्कर्ष मात्रै निकालिरहेको छैन किसम्बन्ध विस्तारका लागिसमेत अग्रसर भइरहेको छ । बालकोटमै आरजु–ओलीको संवाद, ठूलो दल भएर पनि साना मन्त्रालयमै चित्त बुझाएको एमालेदेखि भूराजनीतिको चेपुवामासमेत परेर यो गठबन्धन चाँडै टुट्नेमा विश्वस्त छ । यसका साथै एमालेका विष्णु पौडेलदेखि गगन– शेखरलाई नै ओलीसँगको संवाद बढाएर प्रचण्डको सत्ता खोस्ने रणनीतिमा कांग्रेस सक्रिय छ । कांग्रेसले एमाललाई प्रधानमन्त्रीको अफरसमेत गरेको खुल्न आएको छ । जसका कारण यो समीकरण चाँडै टुट्नेमा कांग्रेस विश्वस्त देखिन्छ ।

यता चौतर्फी रुपमा ओलीकै कारण बनेको समीकरण ओलीले चाहे जुनसुकै बेला भत्किने हुँदा संसद्को अंकगणित कांग्रेसका लागि अनुकूल देखिन्छ । तर, आफूले नै पहलकदमी गरेर बनेको समीकरण कांग्रेसले चाहँदैमा नभत्किने र पटकपटक समीकरण फेरेर अस्थिरता निम्त्याउन नहुने निष्कर्ष एमालेले निकालेको छ । अर्कोतर्फ आफूहरुले सत्ता भागबण्डालाई प्राथमिकता नदिई जनतामा छाएको निराशालाई आशामा बदल्नका लागि यो समीकरण टिकाउने तर्क गर्छन् ।

त्यसो त शान्ति प्रक्रिया टुंग्याउनेदेखि संविधान संशोधन गर्नसमेत कांग्रेस, माओवादी र एमाले एक ठाउँमा उभिनु पर्ने राजनीतिक अवस्था तथा साना दलको सरकारमा वर्चश्व, कम्युनिस्ट मिल्न नसक्ने विगतको नजिरलेसमेत कांग्रेस र एमाले दुई ठूला दल मिलेर जान सके स्थिरताको सुनिश्चितता भएपनि तत्काल त्यो सम्भावना टरेको विश्लेषण भइरहेको छ । तर गठबन्धन फुटाउनु भन्दा पनि सुशासन र जनताको मुद्दा बोकेर कांग्रेस जनतामाझ गए उसको हित हुने विश्लेषकको तर्क छ ।

सत्तामा केन्द्रित दलहरु सत्ता खोसाखोसमा लाग्ने निश्चित भएपनि प्रचण्डमा घटेको मनोबल र जुनसुकै बेला जस्तो सुकै निर्णय गर्न पछि नपर्र्ने एमाले अध्यक्ष ओली र सदनको ठूलो दल कांग्रेससभापति देउवा संसदको गणितको खेलाडी भएकाले अर्कै समीकरणको खेल सुरु गरिसकेका छन् । यद्यपि, जे जस्तो अंक गणित भएपनि प्रचण्ड र ओलीबीच मनमुटाव नआए यो गठबन्धन तोड्न कांग्रेसलाई त्यति सजिलो भने हुने छैन ।