कर्णाली

बिजुलीको पोल ढलेर करेन्ट लाग्दा कालीकोटमा २ जनाको मृत्यु


काठमाडौँ— कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा आज बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीय रोहनकुमार विष्टले बताए ।

कालीकोटमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा २ जनाको मृत्यु
‘घरनजिकै पोल ढलेर तारले छोएर मृत्यु भयो,’ उनले भने, ‘बिजुलीको तारले घर छोएको छ ।’ केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक हुन् ।

बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको मंगलासैनी माविका शिक्षक पंखबहादुर विष्टले बताए । घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पोषण थापाले बताए ।