Breaking

मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही होइनः ओली


काठमाडौँ— नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको बताएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन्।

मोतीदेवी स्मृति केन्द्रले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको उल्लेख गरे।

उनले ३३ प्रतिशत महिलाहरू संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरे।

‘एउटा अलि चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा होइन। त्यस्तो हल्ला चल्ने गरेको छ। तर, अवस्थामा परिवर्तन आएको छ,’ उनले भने, ‘अलि वर्ष अघिसम्म के थियो अवस्था ? अगाडि बढेको बहिनीहरू उहाँहरू मन्त्री भइसक्नु भएको छ। माननीय भइसक्नुभएको छ। नेता भइसक्नुभएको छ।’

उनले पहिलेको अवस्थामा यस्तो स्थिति नरहेको भन्दै प्रश्न समेत गरे।

‘पहिले पनि त्यस्तै थियो र समय ? व्यवस्था परिवर्तन भयो, अरूथोक केही भएन ? आज ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् विभिन्न ठाउँहरूमा,’ उनले भने।

उनले महिलाहरूलाई सशक्तिकरणको बाटोबाट पुरूष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताए।