Breaking

वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता


काठमाडौ – वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ ।

नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डीएसपी कुमारविक्रम थापाले अनलाइनखबरसँग पुष्टि गरे । उनले भने, ‘१०-१५ दिन अगाडि नै जाहेरी आएको थियो, बिहीबार (आज) दर्ता भएको छ ।’
जाहेरीमा अन्य केहीलाई पनि प्रतिवादी बनाएर आएको भए पनि नामहरु आफूलाई यकिन नभएको उनले बताए । जनता समाजवादी पार्टीमा आबद्ध सिंह १० जेठ २०७९ मा वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए ।

गएको पुस अन्तिमतिर वीरगञ्जका मेयर सिंहले आफू नक्कली बाबु भनेर एक जना युवतीलाई नागरिकता बनाइदिएको सार्वजनिक भएको थियो । त्यसबेला जिल्ला प्रशासन कार्यालय, पर्साले छानबिन गर्दा ढड्डाबाट अनुसूची नै गायब भएको पाइएको अधिकृतहरु बताउँछन् ।

प्रशासनले १३ साउन २०७५ मा उनलाई नागरिकता जारी गरेको विवरणहरु सार्वजनिक भएका थिए । यसबारे छानबिन गर्न गृह मन्त्रालयले समिति समेत बनाएको थियो । त्यसक्रममा उनले नागरिकता लिने युवती अर्की श्रीमतीबाट जन्मिएकी ‘आफ्नै छोरी’ भएको बताएका थिए ।

पछि दोस्रो श्रीमती भनिएकी महिलाले अदालतमा अंश र डिभोर्सको मुद्दा समेत दिएको अधिकारीहरु बताउँछन्