Breaking

सैद्धान्तिक र वैचारिक अविश्वास हुँदा काँग्रेससँगको गठबन्धन भत्कियो : प्रधानमन्त्री


काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शंका र अविश्वास भएकाले नेपाली काँग्रेससँगको गठबन्धन भत्काएको दावी गरेका छन्।

बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस र आफूहरूबीच वैचारिक अविश्वास भएकाले गठबन्धन भत्काउनु परेको दावी गरे। उनले आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नपरेको प्रष्ट पारे। उनले काँग्रेसको नेतृत्व र आफूबीच व्यक्तिगत अविश्वास केही नभए पनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको बताए। उनले कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्मविपरीत लाग्दा पनि कारबाही नभएको चर्चा गरे।

राष्ट्रियसभा निर्वाचनमा पनि माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै असन्तुष्टि रहेको बताए। उनले काँग्रेस महासमिति बैठकले गठबन्धनविरुद्ध जाने निष्कर्ष निकाल्नु र हिन्दु धर्मको नाममा हस्ताक्षर चलाउनु गठबन्धन टुट्नुको कारण रहेको उल्लेख गरे। त्यसैगरी काँग्रेसले प्रतिवेदनमै २०४७ सालको संविधान ठिक भएको आशय उल्लेख गर्नु पनि सम्बन्ध टुट्नुको कारक भएको बताए।

प्रचण्डले भने, ‘अघिल्लो सत्ता गठबन्धनमा म कुनै समस्यामा थिइनँ। न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो। नेपाली कांग्रेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास केही पनि थिएन। निर्वाचनमा नेकपा(माओवादी केन्द्र)ले जुन तहमा कांग्रेसलाई सघायो। त्यही तहमा आफूले सहयोग पाएन। कोशी प्रदेशमा त काँग्रेसको एउटा समूहले माओवादीको विरोध नै ग¥यो। राष्ट्रियसभा निर्वाचनमा त्यही पक्षले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित गर्‍यो। गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो भन्ने कुरा बिर्सिएर चर्चा, परिचर्चा, छलफल र निष्कर्ष निकालियो।’