Breaking

कांग्रेसलाई विष्णु पौडेलको आग्रह : संविधानसम्मत विकल्प खोज्दा अन्यथा लिनुहुन्न


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेससँगको गठबन्धनमा समस्या देखिएपछि संविधानसम्मत रुपमा अर्को विकल्प खोजिएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा समय लिएर बोल्दै उनले कुनै पनि समस्या देखिएमा संविधानसम्मत विकल्प खोज्नुलाई अन्यथा लिन नहुने बताए ।
‘हिजोको गठबन्धनमा समस्या सिर्जना भयो भने, सहकार्य गरिरहेका दलहरुबीचमा समस्या देखियो भने संविधानसम्मत ढंगले विकल्प खोज्नुपर्छ’, उनले भने, ‘संविधानसम्मत विकल्प खोज्नुलाई सस्तो पदावलीले आरोपित गर्ने भन्दा त्यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’

अहिले नयाँ यात्रा आरम्भ भएको भन्दै उपाध्यक्ष पौडेलले यो यात्रा सहज ढंगले अगाडि बढ्नेमा आशंका नगर्न पनि आग्रह गरे । ‘इतिहास कहिले पनि सेलरोटीजस्तो घुम्दैन, इतिहास स्प्रिङजस्तो हुन्छ, हिजो जे भयो केही समय पछि हामी पनि त्यही गर्छौं भन्ने ठान्नुहुँदैन’ उनले भने ।
अहिलेको गठबन्धनले प्रतिनिधिसभाको यो कार्यकाल पूरा गर्ने भन्दै उपाध्यक्ष पौडेलले कुनै स्वार्थको लेनदेनका आधारमा गठबन्धन नगरेको बताए । ‘यो विगतका अनुभवहरुबाट शिक्षा लिएर सुरु गरिएको सहयात्रा हो दुर्घटनामा पर्छ कि भनेर आशंका नगरे पनि हुन्छ’, उनले भने ।

यो गठबन्धनले प्रतिनिधिसभाको कार्यकाल पूरा गरेर देश र जनताका लागि कोशेढुंगा स्थापना गर्ने उपाध्यक्ष पौडेलले बताए ।