Breaking

सैद्धान्तिक र वैचारिक विषयमा शंका र अविश्वासले काँग्रेससँगको गठबन्धन भत्कियो : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शंका र अविश्वास भएका कारण नेपाली काँग्रेससँगको गठबन्धन भत्काएको बताउनुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस पार्टी र आफूहरुका बीचमा वैचारिक विषयमा शंका र अविश्वास भएका कारण गठबन्धन भत्काउनु परेको बताउनुभएको हो । उहाँले आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नपरेको प्रष्ट पार्नुभयो ।

उहाँले काँग्रेसको नेतृत्व र आफ्नाबीच व्यक्तिगत अविश्वास पनि केही नभएपनि व्यक्तिगत भन्दापनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको बताउनु भयो । उहाँले कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्म विपरित लाग्दापनि कारबाही नभएको बताउनु भयो । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै त्यसमा पनि आफूहरुको असन्तुष्टि रहेको बताउनु भयो । उहाँले काँग्रेस महासमिति बैठकले गठबन्धनको बिरुद्धमा निष्कर्ष निकाल्नु र हिन्दु धर्मको नाममा हस्ताक्षर चलाउनु नै गठबन्धन टुट्नुको कारण रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले काँग्रेसले प्रतिवेदनमै जनयुद्धको विद्रुपीकरण गर्दै २०४७ सालको संविधान ठिक भएको आशय उल्लेख गरिनुपनि सम्बन्ध टुट्नुको कारण भएको बताउनु भयो । उहाँले व्यक्तिका रुपमा काँग्रेसले आफूलाई माया गरेको भएपनि प्रधानमन्त्रीको रुपमा न्याय नगरेको बताउनु भयो ।