राजनीति

माओवादी र रास्वपालाई छानीछानी मन्त्रालय, ओलीको त्यागैत्याग, माधव पछि लागे, उपेन्द्रलाई पार्टीबाटै रोक (भिडियोसहित)


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन दलहरुबीच भागबन्डा मिलेसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेको १४ महिना बित्दै गर्दा १४ औँ पटक विस्तार भएको प्रचण्डको मन्त्रिपरिषदमा कोको मन्त्री भए त ?
तेस्रो पटक गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन दलहरुबीच भागबन्डा मिले लगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसलगत्तै नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहणसमेत गरेका छन् । गत पुष १० मा तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले १४ महिना बित्दै गर्दा १४ औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ । गत सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् । माओवादीबाट उर्जामा शक्ति बस्नेत र सञ्चारमन्त्री रेखा शर्मालाई निरन्तरता दिएका प्रचण्डले पर्यटन मन्त्रालयमा सुदन किरातीलाई हटाएर हितबहादुर तामाङलाई नियुक्त गरेका छन् । नयाँ गठबन्धन निर्माणका सुत्रधार माओवादी पार्टीका उपमहासचिव वर्षमान पुनलाई उनले चाहेकै अर्थमन्त्रालय दिएका छन् भने गृहमै निरन्तरता दिन चाहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाएका छन् ।
गठबन्धनमा सहभागी हुन गृहमन्त्रालाई बटमलाइन बनाएका रवि लामिछाने नेतृत्वको रास्वपाले आफैँले रोजेका गृहमन्त्रालयसहित अन्य तीन मन्त्रालय पाएको छ । गृहमन्त्रीमा रास्वपा सभापति रवि लामिछानेले कमब्याक गर्दा अन्य मन्त्रालयमा नयाँ अनुहारलाई अवसर दिइएको छ । रास्वपा उपसभापति डीपी अर्यालले श्रम, विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद र सुमना श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

गठबन्धन दलबीचको भागबन्डामा ८ मन्त्रालय पाएको नेकपा एमाले पार्टी सचिव रघुवीर महासेठ नेतृत्वमा सरकारमा सहभागी भएको छ । महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बनेका छन् । ओली फापेका महासेठ ओलीकै निगाहमा लगातार चौथौ पटक मन्त्री बनेका हुन् । पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी मन्त्री बनेका छन् । नयाँ समीकरणमा स्पष्ट भूमिकासहित सरकारमा जाने निर्णय गरेको एकीकृत समाजवादी पार्टी अन्तिम समयमा सरकारमा जान तयार भएको छ । सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएको एकीकृत समाजावादीबाट क्रमशः धनबहादुर बुढा र भानुभक्त जोशी मन्त्री बनेका छन् । वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाको बुधबार बसेको कार्यकारिणी बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । गठबन्धन बैठकमा कुरा मिल्न बाँकी रहेकाले जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवको भनाइ छ ।