Breaking

गृहका लागि नव गठबन्धनमा लुछाचुडी, रवि र विष्णु पौडेल भिँड्दा नारायणकाजीको च्याँखे, प्रचण्डको खेल


काठमाडौँ सत्ता समीकरणमा आएको फेरबदलसँगै नयाँ मन्त्रिपरिषद गठन, मन्त्री र मन्त्रालयको भागबन्डाले राजनीतिक रस्साकस्सी बढेको छ । अर्थ, गृह जस्ता मालदार मन्त्रालय उछिट्याउन दलहरुबीच हुने सधंैको हानथाप चुलिएको छ । एमाले र रास्वपाको नजर गडेको गृहमा माओवादी स्वयम् पनि आकांक्षी छ । गृह हाँक्ने को ? एमाले कि रवि वा नारायणकाजीकै निरन्तरता नव गठबन्धनमा चुलिएको बहसले चासो बढेको छ ।
सरकार गठन वा विस्तारका क्रममा दलहरुबीच भागबन्डा हुँदा सधँै खोसाखोस नै चल्ने मन्त्रालय हो गृह मन्त्रालय । सिंगो सुरक्षा संयन्त्र आफ्नो मुठीमा हुने, सूचनामा सहज पहुँचदेखि आफ्नालाई जोगाउने र मन नपरेकालाई डाम्न पाउने थलोको रुपमा बुझिँदा अनेक विवाद र चर्चामा रहने गृहमा दल र नेताहरुको नजर पर्ने गरेको छ । यो मन्त्रालय हत्याउन मरिहत्त नै हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यूर्टनले राजनीतिक समीकरण पुनः पुष १० मा फर्किएसँगै गृहमा नेताहरुको हानथाप सुरु भएको छ । तत्कालीन राजनीतिक परिस्थिति अझ भनौँ एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा गृह उछिट्याएका रवि पुनः कसैगरी गृह पाउनु पर्ने लबिङमा छन् । गृहमै फर्काइ दिन ओली–प्रचण्डसँग हारगुहार नै गरिरहेका छन् । रास्वपाले गृह मन्त्रालयलाई आफ्नो बटमलाइन बनाएको छ ।

पहिलो सत्ता यात्रामै गृहको स्वाद चाखेका रवि गृहमन्त्री भएको केही समय नबित्दै नागरिकता विवादका कारण पदबाट हात धुनु परेको थियो । जनाताले देख्ने गरी काम गर्न पाउने दाबीसहित गृहमा नजर गाडेका रविको जनताका मुद्दा भन्दा पनि मुख्य अभिष्ट सहकारीको मुद्दा प्रभावित पार्दै आफू र आफ्नो सहयात्री जीबी राई जोगाउनकै लागि गृहमा मरिहत्ते गरिरहेको बुझ्न कठिन छैन । पुष १० कै समीकरण अनुसार मन्त्रिमण्डललाई पनि त्यसै अनुरुप निरन्तरता दिने चर्चाका बीच गृहमा रविको इन्ट्री असम्भव भने छैन । तर पुष १० मा रविलाई गृह सुम्पेका ओलीले यो पटक रविलाई पत्याउँलान् ? ओलीको आर्शिवाद मिले रविले गृह पाउने सम्भावना छ । प्रधानमन्त्री प्रचण्डले गृहको जिम्मा ओली र रविलाई मिलाएर लिन जिम्मा दिइ सकेका छन् । तर ओली–प्रचण्ड मिलाउने मुख्य नाइके नयाँ गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमा अड्किएका छन् । उपाध्यक्ष पौडेले एमालेले अर्थ मन्त्रालय नपाए सरकारमा नजाने हठ कसेका छन् । अर्थ मन्त्रालय बाहेक अरु मन्त्रालय बोकेर एमाले सरकारमा जानुको अर्थ नभएको उनको तर्क छ । नयाँ गठबन्धनका अर्का सुत्रधार वर्षमान पुन पनि अर्थमन्त्री पाउनेमा ढुक्क छन् । पुनको इच्छामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको साथ छ । मालदार मन्त्रालय माओवादी र रास्वपालाई जिम्मा लगाएर ओली सत्तायात्रा गर्न तयार होलान् ? यसअघि अर्थ आफ्नो साथमा राखेर रविलाई गृह दिएका थिए । यो पटक माओवादीले अर्थ पाउने लगभग पक्का छ । फलतः ओलीले गृह आफंैसँग राखे रवि रित्तो हुनेछन् । गृह हत्याउने दलहरुबीचको रस्साकस्सीमा कसले बाजी मार्ला ?

गृहमा नारायणकाजी श्रेष्ठको रहर अझै पुगेको छैन । आफूले अघि सारेका कामलाई पूर्णता दिने इच्छासहित श्रेष्ठको पनि गृहमा दाबी छ । आफूले अघि सारेका भ्रष्टाचारविरुद्ध अभियान र सुशासन कायम गर्ने उद्देश्यलाई थप सशक्त रुपमा अगाडि बढाउँदा जनतामा सकारात्मक सन्देश पुग्ने उनको दाबी छ । नेताहरु भने गृहबारे छलफल सुरु नै नभएको दाबी गरिरहेका छन् ।

गृहमन्त्रालय सबैभन्दा महत्वपूर्ण र संवेदनशील मन्त्रालय हो । त्यसैले पनि सत्ता घटक दलहरुले यसमा आँखा गाडेका छन् । त्यसो त अन्य मालदार मन्त्रालयबारे पनि गठबन्धन दलहरुबीच सहमति जुट्न सकिरहेको छैन । यो गाँठो फुकाउने र सरकारलाई गति दिने विषयमा नव गठबन्धनका लागि चुनौतीको रुपमा अगाडि देखिएको छ । यद्यपि, सबैले आआफ्नो अडानलाई छोडेर लचिलो हुनै पर्ने आवश्यकता पनि छ । यदि त्यसो नभएको खण्डमा यो गठबन्धनको पनि भविष्य अनिश्चित पक्का छ ।