Breaking

नेपाल हार्दा कीर्तिपुरमा छायो सन्नाटा, नेदरल्यान्ड्स टिमलाई नेपाली दर्शकको सम्मान, केमा चुक्यो ?


काठमाडौँ – टी-ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । मंगलबार कीर्तिपुर मैदानमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले सिरिज जितेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर ३ बल अगावै पूरा ग¥यो । माइकल लेविटको सानदार अर्धशतकमा नेदरल्यान्ड्सले नेपालमाथि जित हासिल गरेको हो ।
नेपालले घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भयो । हजारौँ दर्शकोसाथ पाएको घरेलु टोलीका खेलाडीले दर्शको साथ र घरेलु मैदानको उपयोग गर्न सकेनन् । जसका कारण मैदानमा उपस्थित हजारौँ दर्शक निराश बने ।

दर्शकहरु मैदानमा जाँदा जति उत्साहित थिए, फर्किदा उदास बने । तर नेपाली दर्शकले जितमा मात्रै होइन हारमा पनि पाहुनालाई सम्मानकासाथ समर्थन जनाए ।
जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नेदरल्यान्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए । कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेपालका शीर्ष क्रमका ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्यान्ड्सका बलरसामु निरीह बने । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।

नेपालले २३ रन जोड्दा ३.३ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भए । रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए । गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए । करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् । विश्वकप लिग टू नेपाल आएर नेदरल्यान्ड्स र नामिबियालाई समावेश गरेर क्यानले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो । टी ट्वान्टी त्रिकोणात्मक सिरिज नेपालले यस वर्ष खेल्ने विश्वकप तयारीको सुरुवातसमेत हो । अहिले पनि नेपाल क्रिकेट पूर्वाधारको हिसाबमा धेरै नै कमजोर छ ।
सुविधासम्पन्न अन्तर्राष्ट्रिय रंगशाला नभएको नेपालको क्रिकेट संरचना र खेलाडीको क्षमता विकासमा आवश्यक लगानी र सहज वातावरण बनाउने कुरामा संम्बन्धित निकायको ध्यान जान जरुरी छ । जिल्ला र प्रदेश तहमा रहेका संरचना चुनावमा मतदाता संकलन गर्नेभन्दा माथि उठ्न सकेका छैनन् । ग्रासरुट कार्यक्रम शून्य छ, उमेर समूहका प्रतियोगिता सीमित छन् । महिला क्रिकेटलाई बेवास्ता गरिएको छ । यस विषयमा सरकार र सरोकार वाला निकायहरुको चाँडै ध्यान जान जरुरी छ ।