Breaking

सुसाइड नोटको अक्षर सालिनकै भएको पुष्टि


काठमाडौँ— चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी बालिका सालिन पोखरेलको कोठामा भेटिएको ‘सुसाइड नोट’को अक्षर उनकै भएको पुष्टि भएको छ ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए । उनले भने, ‘यो रिपोर्ट जिल्ला प्रहरी कार्यालय, चितवन पुगिसकेको छ ।’

सालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरेको थियो । होस्टलको कोठाभित्र स्काउटको डोरीमा झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया सालिन पोखरेलको शव भेटिएको थियो ।

पोखरेलको मृत्यु र प्रहरी अनुसन्धानलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पठाएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु झुण्डिएका कारण भएको देखिएको प्रहरीको भनाइ छ ।