Breaking

सुसाइड नोटको अक्षर सालिनकै भएको पुष्टि

योहो संवाददाता

काठमाडौँ— चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी बालिका सालिन पोखरेलको कोठामा भेटिएको ‘सुसाइड नोट’को अक्षर उनकै भएको पुष्टि भएको छ ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए । उनले भने, ‘यो रिपोर्ट जिल्ला प्रहरी कार्यालय, चितवन पुगिसकेको छ ।’

सालिनका बाबुले उक्त नोटमाथि आशंका गरेपछि प्रहरीले ‘सुसाइड नोट’को नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा जाँच गरेको थियो । होस्टलको कोठाभित्र स्काउटको डोरीमा झुण्डिएको अवस्थामा १२ फागुनमा १४ वर्षीया सालिन पोखरेलको शव भेटिएको थियो ।

पोखरेलको मृत्यु र प्रहरी अनुसन्धानलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पठाएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु झुण्डिएका कारण भएको देखिएको प्रहरीको भनाइ छ ।