Breaking

कांग्रेसको फुुटले देउवा निवासमा सन्नाटा, मन्त्री र महामन्त्री नै दोषी, आरजुको त्यो हठ…


काठमाडौँ – पछिल्लो समय राष्ट्रिय सभा अध्यक्ष र मन्त्री हेरफेरमा माओवादीसँग नेपाली कांग्रेस लचक हुँदै गएको थियो । तर माओवादी भने समीकरण फेरेर एमालेसँग मिल्दै सरकार बनाउन पुगेको छ । समीकरण फेरबदल हुनुमा यी गल्ती हुन् जसले कांग्रेसको मुखैमा आएको सत्ता गुम्यो ।

छैटौं पटक प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवामा आफू प्रधानमन्त्री बन्न नपाउने ठूलो संशय थियो । त्यसका लागि उनले आफ्नो पार्टीमा लैजाने प्रस्तावका लागि समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहमति माग्नु परेको थियो । तर तीनै प्रचण्डले काँध नथापिदिँदा केपी शर्मा ओलीको पोल्टामा सत्ताको पासा पल्टियो । विगतदेखि नै स्थिर सरकारका लागि भन्दै एमाले कांग्रेससँग मिल्न चाहिरहेकै थियो । तर सत्ता टिकाउन एनपी साउद र आरजु राणाको दिल्ली दौडाहसमेत निरर्थक सावित भयो । देश भित्रै पनि प्रचण्डसँग ओलीले वार्ता गर्दा देउवाले ओलीसँग वार्ता गर्ने सारथिसमेत पाएनन् । मध्यराति ओली–प्रचण्ड वार्ता चलिरहेका बेला देउवाका विश्वास पात्र रमेश लेखक भने माओवादीसँग गठबन्धन टिकाउन छलफलमै ठिक्क थिए ।

यता वार्ताका लागि देउवाका दूत मानिने मिनेन्द्र रिजाल पनि पूर्वी नेपालतिर थिए । यसअघि, ओलीसँग महामन्त्री विश्वप्रकाश शर्माको राम्रै सम्बन्ध भएकाले देउवाले गगन थापा र विश्वप्रकाशलाई ओलीसँग वार्ताका लागि खटाएका थिए । तर देउवासँगको बैठकबाट मुन्टो हल्लाउँदै निस्किएका महामन्त्रीद्वय अन्यत्रै लागे, बालकोट पुगेनन् । पछि देउवाले आफ्नो दूतका रुपमा सहरी विकास मन्त्री सीता गुरुङलाई पठाए । गुरुङ बालकोट पुग्दा ओली बालुवाटार निस्किसकेकाले त्यो प्रयासले सफलता पाउन सकेन । देउवा भने प्रचण्डले गठबन्धन नफुटाउने विश्वसमै थिए । कांग्रेस पदाधिकारी बैठकमा गरेको ब्रिफिङ अनुसार ओलीले देउवालाई भेट्नका लागि हरेक दिन दुईभन्दा बढी पटक फोन गर्ने गरेको तर आफू प्रचण्डकै विश्वासमा बसिहरेको बताएका थिए । आफूले प्रचण्डमाथि विश्वास गरे पनि उनले भने भित्रभित्रै ओलीलाई भेट्ने गरेको आफूले थाहै नपाएको ब्रिफिङ गरेका छन् ।


विशेष गरी अर्थमन्त्री डा. प्रकाशशरण महत र स्वास्थ्यमन्त्री मोहन बस्नेतको नाम भ्रष्टाचारमा मुछिएपछि मन्त्री फेर्न दबाब दिँदा देउवाले मानेका थिएनन् । पछिल्लो समय भने राष्ट्रिय सभा निर्वाचन र मन्त्री हेरफेरमा बढेको अविश्वासले नै प्रचण्डलाई ओली कित्तामा पु¥याएको देखिन्छ । मुखैमा आएको प्रधानमन्त्री छाड्नुभन्दा प्रचण्डसँग सम्झौता गर्न तयार रहँदासमेत देउवासँगको सहकार्य टुट्नुमा छुट्टै कारण छन् ।
१. मन्त्री फेर्न अनिच्छुक, आरजु र प्रकाशशरणको दबदबा
विभिन्न प्रकरणमा जोडिएका र कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई फेरेर नयाँ प्रारुपमा काम गर्ने तयारी प्रधानमन्त्री प्रचण्डको थियो । तर, देउवा पत्नी आरजु र अर्थमन्त्री प्रकाशशरण महतको दबदबाले प्रचण्ड तनावमा थिए । अरु मन्त्रालयका मन्त्रीहरु हेरफेर गरे पनि अर्थ मन्त्रालयमा महतलाई निरन्तरता दिनुपर्ने र गृहमन्त्री जसरी पनि फेर्नुपर्ने आरजुमार्फत कांग्रेसको अडान थियो । नक्कली भुटानी शरणार्थी प्रकरण लगायत विभिन्न काण्डमा गृहमन्त्री नारायणकाजीले असहयोग गरेपछि कांग्रेस रुष्ट बन्दै आएको थियो । अर्थमन्त्रीसँग पनि प्रधानमन्त्रीको पटक–पटक टसल हुँदै आएको थियो ।
२. पटक–पटक माओवादीले पाएको धोका
उसो त गत वर्ष भएको आमनिर्वाचनदेखि नै बागी उम्मेदवार उठाएर कांग्रेसले माओवादीमाथि घात गरेको आरोप लाग्दै आएको छ । त्यसमाथि कोशी प्रदेशमा माओवादीले कांग्रेसका लागि सभामुख र मुख्यमन्त्री गुमाउनु तथा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसकै फ्लोर क्रसले माओवादी उम्मेदवार पराजित हुनुलाई माओवादीले धोका मानेको छ । त्यसको भर्पाइ राष्ट्रिय सभाको अध्यक्ष लिएर गर्न खोज्दा त्यसमा पनि कांग्रेसले अड्को थापेपछि माओवादी बालकोट पुग्न बाध्य बन्यो ।
३. कांग्रेस महासमितिमा प्रस्तुत प्रतिवेदन
कांग्रेसको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको प्रस्तावमा ‘माओवादी १० वर्षे अनावश्यक द्वन्द्वले आर्थिक विकासमा क्षति पु¥याएको’ भन्ने अंशलाई पनि माओवादीले आफूमाथिको अपमान भन्दै व्याख्या गरेको छ । त्यो अंश हटाउन माआवादीले दबाब दिएपछि देउवा पदाधिकारी बैठकमार्फत हटाउन तयार पनि भए । तर जनयुद्धको अपमान नस्वीकार्ने भन्दै प्रचण्ड सत्ता समीकरण नै फेर्ने बाटोमा अघि बढे ।
४. गगन थापाको प्रस्तावले दिएको हैरानी
३२ सिटको माओवादी एक्लै चुनावमा होमिएर राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने अवस्थामा छ । यो अवस्थामा एमालेसँग मिलेर जाने नैतिक धरातल नभएपछि सिद्धान्तलाई बिट मार्दै दक्षिणपन्थीहरुसँग मिलेरै भए पनि पार्टीको अस्तित्व जोगाउने रणनीतिमा रहेको माओवादीका लागि महामन्त्री गगन थापाको गठबन्धन नगर्ने प्रस्तावले झनै पिरोल्यो । फलतः अर्को चुनावमा साथमै नरहने कांग्रेसलाई काँध हाल्नुभन्दा पनि कम्युनिस्टहरुसँगै कुम जोड्न प्रचण्डले उपयुक्त ठाने । त्यसमाथि कांग्रेस महासमिति बैठकमा हिन्दुधर्म सापेक्षताको आवाज बलियो बनेपछि संविधानको विरुद्धमा कांग्रेस जान थालेको निष्कर्ष माओवादीले निकालेको छ ।
५. टीआरसीमा थापेको अड्को
१७ वर्षदेखि सत्ता राजनीतिको भूमरीमा रहेको संक्रमणकालीन न्यासम्बन्धी विधेयकमा आइतबार तीन दलबीच सहमति भएको थियो । तर ओली प्रचण्डसँग मिल्ने सुईको पाएपछि देउवाले रमेश लेखकमार्फत केही अध्ययन गर्नुपर्ने भन्दै कानुनमन्त्रीलाई केही दिन रोक्न भने । त्यहीअनुसार मन्त्री धनराज गुरुङले छलफल गर्नुपर्ने भन्दै टीआरसी रोकेपछि प्रचण्ड झस्किएका हुन् । गठबन्धन भत्किनुको मुख्य कारण यसैलाई मानिएको छ । प्रधानमन्त्री प्रचण्डले नै आफू जीवित रहेसम्म देशमा यस्तै अस्थीरता कायम रहने स्वीकार गरेका छन् । यस्तो हुँदा गत पुष १० मा एमालेसँगको सहकार्य तोड्दै कांग्रेसको पोल्टामा पुगेका प्रचण्ड फेरि ओली रिझाउन सफल भएका छन् । यसले एक वर्षपछि नै कांग्रेसको हातमा आएको सत्ता गुम्दा पार्टीमा भने सन्नाटा छाएको छ ।