Breaking

अम्बानीका छोराको बिहे विश्वकै महंगो, रिहानाको डान्सलाई ५२ करोड, अरु केके भयो ?


काडमाडौँ – विश्वका शीर्ष अर्बपतिहरुमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहको पार्टीका लागि विश्वभरकै चर्चित व्यक्तित्वहरु उपस्थित भएका छन् । आम्बानीका छोराको बिहेमा बिल्गेट्सदेखि मार्क जुकरबर्गसम्म सहभागी भएका छन् । विवाहमा करिब १ हजार करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । एक रिपोर्ट ।।।
एसियाका सबैभन्दा धनी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको बिहेले यतिबेला चर्चा पाइरहेको छ । अनन्तको विवाहमा मुकेश अम्बानीले मेटाका मालिक मार्क जुकरबर्ग, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, गायिका रिहाना जस्ता चर्चित अनुहारलाई पाहुनाका रुपमा निम्त्याइएको थियो । सन्तानका लागि मुकेश अम्बानीले खर्च गर्न कुनै कसुर बाँकी राखेनन् । यसअघि मुकेश अम्बानीले छोरी ईशा अम्बानीको विवाहमा ४ सय करोड भारु खर्च गरेका थिए ।

ईशाले विवाहमा ९० करोड भारतीय रुपैयाँ बराबरको लहेङ्गा लगाएर विश्व कीर्तिमान नै बनाएकी थिइन् । कान्छा छोरा अनन्तको विवाहमा सुपरस्टार आमिर खान, सलमान खानदेखि शाहरुख खानलगायत धेरै स्टारहरू पुगेका थिए । तीन खानले एकै स्टेजमा आफ्नो धमाकेदार प्रस्तुति दिएका थिए । अमेरिकी गायिका रिहानाले पनि विवाह कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी थिइन् ।


विश्व विख्यात अमेरिकी गायिका रिहानाले मोटो रकम लिने गर्छिन् । उनले अनन्तको विवाहको लागि ५२ करोड भारू पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एसियाकै धनी व्यक्ति मुकेश अम्बानीका छोरा अनन्तको विवाह एक हिसाबले विश्वकै महंगो विवाह रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । समग्रमा भने अनन्त र दुहली राधिकाको विवाहमा १ हजार करोड भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । यो रकम कार्यक्रममा मात्रै खर्च भएको हो ।
भोज तथा अन्य खर्च भने यसमा नजोडिएको जनाइएको छ । प्रि–वेडिङमा ५१ हजार जनाका लागि डिनर आयोजना भएको थियो । उनीहरु गुजरातका स्थानीय बासिन्दा रहेका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार भोजमा मात्रै १६५ करोड भारतीय रुपैयाँ अम्बानी परिवारले खर्च गरेका छन् । २८ वर्षीय अनन्तले राधिका मर्चेन्टसँग विवाह गरेका हुन् । ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले सन् २०२२ मा इन्गेजमेन्ट गरेका थिए ।